चितवन, बारा र तनहुँमा मतदान सुरु


पैरवी खबर

काठमाडौं : प्रतिनिधि सभा सदस्यका रिक्त तीन क्षेत्रका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ।

बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहानबाट मतदान सुरु भएको हो। बिहान ७ बजदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नागरिकता कायम नरहेको भन्दै बदर भएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।

चितवन २ मा रास्वपाका लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिष्पर्धा हुने ठानिएको छ।

मंसिर ४ गतेको चुनावमा कांग्रेसबाट विजयी रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ १ मा नेपाली कांग्रेसको तर्फवाद गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्।

यस्तै रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुसहवा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन्।
मतदान सम्पन्न भएपछि आइतवारै मतपेटिका गणनास्थलमा संकलन गरेर गणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ।