नारायण अवस्थी
धनगढीः आइतवार प्रकाशित भएको धनगढीको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक भएको हो। नतिजा सार्वजनिक भएसँगै धनगढीका सामुदायिक विद्यालयमा ठुलो हल्लीखल्ली मच्चिएको छ। विगतमा उपमहानगरलाई प्रभावित बनाएर, ग्रेस दिन लगाएर सतप्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयहरूलाई यो पटक भने झट्का लागेको छ।
यो पटक उपमहानगरले परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाइ गरेपछि सबै विद्यालयहरूको नतिजा झस्काउने गरि खस्किएको छ। धनगढीका सबैजसो सामुदायिक र निजी विद्यालयमा यो वर्ष कक्षा ९ मा न्यून संख्यामा विद्यार्थी भर्ना हुने देखिएको छ।
केही विद्यालयहरूमा भने ९ कक्षा वर्षभरी रित्तो हुने भएका छन्। उपमहानगरले बैशाख २९ र ३० गते ग्रेड वृद्धि परीक्षा तोकेको छ। त्यो परीक्षामा सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा ननग्रेड नतिजा ल्याएका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने छन्। ग्रेड वृद्धि परीक्षामा सफल हुन सके मात्रै शून्य नतिजा ल्याएका विद्यालयहरूको कक्षा ९ मा केही संख्यामा विद्यार्थी भर्ना हुन सक्ने अवस्था निर्माण हुनेछ।
यी हुन् सबै विद्यार्थी फेल हुने सामुदायिक विद्यालयहरू
१) धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरमा रहेको सरस्वती आधारभूत बिद्यालयका कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त गरेका छैनन्।
२)धनगढी वडा नम्बर १३ श्रीलंकामा रहेको नव ज्योति आधाभूत विद्यालय
३) धनगढी वडा नम्बर १३ राजपुरमा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुर
४)धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा रहेको भैरवबाबा आधाभूत विद्यालय
५) धनगढी-९ बंगराकटानमा रहेको सरस्वती आधारभूत विद्यालय
६) धनगढी- ७ देबहरीयामा रहेको शिव माध्यमिक विद्यालय
७) धनगढी-१७ पथरीमा रहेको भानु माध्यमिक विद्यालय
८)धनगढी-१६ दमौलीमा रहको सज्जन आधारभूत विद्यालय
९)धनगढी-१६ भादामा रहेको दिपेन्द्र चारपाते माध्यमिक विद्यालय
१०) धनगढी-१४ फूलबारीमा रहेको शिवशंकर आधारभूत विद्यालय
११)धनगढी- १४ एच गाँउमा रहेको सिद्धार्थ आधारभूत विद्यालय
१२)धनगढी-१८ ‘एफ’ गाँउमा रहेको खप्तडी आधारभूत विद्यालय
१३)धनगढी-१८’ई’ गाँउमा रहेको इन्द्रोदय आधारभूत विद्यालय
१४) धनगढी-१९ फूलबारीमा रहेको फूलबारी आधारभूत विद्यालय
१५) धनगढी-१२ जनकबस्तीमा रहेको नवदुर्गा आधारभूत विद्यालय
१६) धनगढी-१२ दुर्गाबस्तीमा रहेको दुर्गा आधारभूत विद्यालय
१७)धनगढी- १० जुगेडामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्ने कुनै विद्यार्थीले कक्षा ९ मा भर्ना हुन आवश्यक पर्ने ग्रेड पाउन सकेका छैनन्।
यस्तै, एउटा निजी विद्यालयको नतिजा पनि सामुदायिक विद्यालयको जस्तै आएको छ। धनगढी-३ बोराडाँडीमा रहेको मोडर्न स्कुलको कुनै पनि विद्यार्थीले कक्षा ८ को परीक्षामा ९ कक्षामा भर्ना हुन आवश्यक पर्ने ग्रेड ल्याउन सकेका छैनन्। यद्यपि, उपमहानगरले बैशाख २९ र ३० मा ग्रेड वृद्धि परीक्षा गर्ने सूचना सार्वजनिक गरिसकेको छ।