आरआरमा एमालेको विरासत तोड्न बनेको गठबन्धनमै गडबड


पैरवी खबर

काठमाडौं ३० फागुन।
केही दिन यता काठमाडौको भृकुटीमण्डप परिसर विद्यार्थीले भरिएका छन् । त्यसको कारण आगामी ५ चैतमा हुने स्ववियु निर्वाचन हो ।

यो क्षेत्रमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), विश्वभाषा, नेपाल ल र नजिकै शंकरदेव क्याम्पस छ । यी सबै क्याम्पसमा स्ववियु चुनाव हुने भएकाले विद्यार्थीको भीडभाड बढ्दो छ ।

हो-हल्लादेखि झडपसमेत भइरहने हुँदा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको प्रष्ट बुझ्न सकिन्छ । ‘चुनाव हुने भनेपछि वरिपरिका वातावरण सधै अशान्त हुन्छ । अहिले पनि त्यही माहोल छ’, आरआर क्याम्पसका एक प्राध्यापक भन्छन् ।

यी क्याम्पसहरु मध्ये आरआर क्याम्पसलाई विद्यार्थी संगठनहरुले तुलनात्मक बढी प्रतिष्ठाको विषय बनाएका छन् । विद्यार्थी संख्याका हिसाबले मात्रै नभएर यो क्याम्पसमा एमालेको बिरासत अहिलेसम्म तोडिन नसक्नु पनि चासोको विषय हो ।

एमालेविरुद्ध आरआरमा यसपटक सत्तारुढ दल निकट विद्यार्थीहरुले संयुक्त उम्मेदवारीकै तयारी गरेका छन् । जसरी पनि एमाले निकट अनेरास्ववियुलाई हराउने नीति अन्तर्गत स्ववियु सभापति नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमा पारिएको छ ।

‘गठबन्धनबाट निर्णय भएर हामीले यहाँको स्ववियु नेतृत्व गर्ने कुरा भएको छ, प्यानल घोषणा नभएपनि सबै तयारी गर्दैछौं,’ अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ भन्छन् । उपमहासचिव श्रेष्ठका अनुसार, अनेरास्ववियूले मकेश कुँवरलाई अध्यक्षमा अगाडि बढाएको छ ।

तर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुबीच कुरा मिल्न नसक्दा अहिलेसम्म संयुक्त प्यानल समेत बन्न सकेको छैन । उनीहरुलाई आज, मंगलबार १२ बजेसम्म मनोनयनका लागि दिइएको समय दिइएको थियो । यो समयभित्र पनि उम्मेदवारी दर्ता गर्न सकेका छैनन् ।

मनोनयनको समय २७ फागुनमा तोकिएको भएपनि त्यसदिन हुलदंगा भएकाले प्रशासनले थप समय दिएको थियो । तर थपिएको समयमा पनि उम्मेदवारी हुन नसक्नुको कारण गठबन्धनबीच भागबण्डा मिल्न नसक्नु हो ।

एमालेविरुद्ध आरआरमा यसपटक सत्तारुढ दल निकट विद्यार्थीहरुले संयुक्त उम्मेदवारीकै तयारी गरेका छन् । जसरी पनि एमाले निकट अनेरास्ववियुलाई हराउने नीति अन्तर्गत स्ववियु सभापति नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमा पारिएको छ ।
नेविसंघका आरआर क्याम्पसका कार्यवाहक सभापति नविन केडी, केन्द्रबाट एक्लौटी निर्णय गरेकाले समस्या आएको बताउँछन् । ‘यहाँ गठबन्धन भनिरहेका छौं, तर हामीले मिलाउनुपर्ने धेरै पदहरु रहेको छ’ केडी भन्छन्, ‘यहाँको वातावरण नबुझी केन्द्रले क्याम्पस भागभण्डा गरेको छ ।’ क्याम्पस स्तरमा गठबन्धनबीच छलफल नभएकाले अहिले समस्या आएको उनी बताउँछन् ।

‘यहाँ कुनै छलफल नै भएको छैन । हामीलाई सभापति नदिने भएपछि के दिने ? के पाउने ? छलफल छैन’, केडी भन्छन् । उनका अनुसार, आरआरमा नेवि संघले जेम्स राई अगाडि बढाउने तयारी गरेको छ । भागभण्डा नमिले नेविसंघले बाघी उम्मेदवारी दिने केडीको चेतावनी छ ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि सचिव पाउनुपर्ने दावी छोडेको छैन । अखिल क्रान्तिकारी आरआरका नेता सञ्जीव ढकाल, आफ्नो संगठन बलियो भएकाले अध्यक्ष नपाए सचिव पाउनुपर्ने बताउँछन् ।

नेतृत्व पाउनुपर्ने, नभए प्रमुख पदको दावी गरिरहेका मुख्य संगठनहरुबीच भागबण्डा मिलाउन संयुक्त बैठक भने अहिलेसम्म बस्न सकेको छैन । अखिल क्रान्तिकारीकी नेता सोनी भट्राई, क्याम्पसमा हुलदंगाको स्थिति सिर्जना भएकाले मनोनयन प्रभावित बन्न पुगेको बताउँछिन् ।

अवरोधबीच मनोनयन दर्ता गरेको एमाले निकट अनेरास्ववियु भने प्रचार अभियानमा जुटेको छ । अनेरास्ववियुले मदन भण्डारी अध्यक्ष, दिलिप खड्का सचिव, जन्मराज न्यौपाने सचिवसहित ११ जनाको उम्मेदवारी दिएर प्रचारमा जुटेको छ ।

‘हामी विरुद्ध गर्न खोजेको गठबन्धन प्रभावकारी नभएपछि आन्दोलन गर्ने, खुकुरी देखाउने काम भइरहेको छ’ भण्डारी भन्छन्, ‘हामीले आफ्नो तर्फबाट तयारी गरिसकेका छौं ।’ भण्डारीसहित ५ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

नेपाल मजदुर किसान पाटी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट रोजित महर्जनको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । यस्तै स्वतन्त्र रुपमा बनेको समहु समाजवादी विद्यार्थी समुहबाट जमुना निहुरेको नेतृत्वमा, क्रान्तिकारी विद्रोही नाममा प्यानलसहित नविन कोइरलाको नेतृत्वमा उम्मेद्वारी दर्ता भएको ।

यस्तै महेश जैसीले पनि स्वतन्त्र रुपमा स्ववियू सभापतिमा उम्मेद्वारी दिएको निर्वाचन समितिका संयोजक विनोद कार्कीले जानकारी दिए । .यसपटक आरआरमा ४ हजार ७५ मतदाता छन् ।