डोटीमा स्ववियु चुनावमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बिच सहकार्य हुने


पैरवी खबर

डोटी : डोटीमा नेकपा एमाले पार्टी निकट अनेरास्ववियु र माओवादी केन्द्र पार्टी निकट अखिल (क्रान्तिकारी) का बिच चुनावी तालमेल हुने भएको छ । आउने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी शुक्रवार दुवै विद्यार्थी सङ्गठनले सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

जिल्लामा रहेका ६ क्याम्पस मध्ये ३/३ क्याम्पसको स्ववियु अध्यक्ष लिने गरी दुवै सङ्गठन सहमत भएका हुन् । जिल्ला सदरमुकाम सिलगढीमा रहेको डोटी बहुमुखी क्याम्पसको अध्यक्ष, कोषाध्यक्ष र ३ जना सदस्य अनेरास्ववियुले र उपाध्यक्ष, सचिव, सहसचिवसँगै  ३ जना सदस्य अखिल (क्रान्तिकारी) ले पाउने भएको छ ।

दिपायल क्याम्पसको अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य अखिल (क्रान्तिकारी) ले र उपाध्यक्ष, सचिव, सहसचिव र एक जना सदस्य अनेरास्ववियुले, केदार पुञ्ज क्याम्पस बिपिनगरको अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य अखिल (क्रान्तिकारी) ले र उपाध्यक्ष, सचिव, सहसचिव र एक सदस्य अनेरास्ववियुले, खप्तड क्याम्पस आदर्शको अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य अनेरास्ववियुले र उपाध्यक्ष, सचिव, सहसचिव र एक जना सदस्य अखिल क्रान्तिकारीले लिने सहमति भएको अखिल (क्रान्तिकारी) डोटीका जिल्ला अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

त्यसै गरी सिताराम बहुमुखी क्याम्पसको अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य अनेरास्ववियु, उपाध्यक्ष, सचिव, सहसचिव र १ जना सदस्य अखिल (क्रान्तिकारी) र सेतिमहाकाली क्याम्पस जोरायलको अध्यक्ष, कोषाध्यक्ष र २ सदस्य अखिल (क्रान्तिकारी) र उपाध्यक्ष, सचिव, सहसचिव र एक सदस्य अनेरास्ववियुको भागमा परेको छ । आउने चैत ५ गते त्रिभुवन विश्वविद्याल अन्तरगतका क्याम्पस र चैत ८ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । चुनाव नजिकिँदै गर्दा विभिन्न विद्यार्थी संगठनहरु चुनावको तयारीमा जुटेका छन् ।