एमाले अछामको ग्रासरुट प्रभावकारी बनाउन जिल्ला स्तरीय अभिमुखिकरण सम्पन्न


पैरवी खबर

नेकपा एमालेको मिसन ग्रासरूट अभियानलाई थप प्रभावकारी बनाउन एमाले अछामले एकदिनको जिल्लास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीमा सम्वद्द जिल्ला कमिटी, जनसंगठन, पेसागत संगठन र पालिकाकास्तरका प्रमुख/उपप्रमुखलगायतलाई अभिमुखिकरण गरिएको हो ।
प्रशिक्षणका क्रममा देशको राजनीतिमा एमालेको भूमिका र अवस्था, नीति, सिद्धान्त र पार्टीले आगामी दिन लिने रणनीतिका बारेमा प्रशिक्षण गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज शिवराज ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अथिति एमालेका केन्द्रीय स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले `दशौ राष्ट्रिय महाधिवेशनको कार्यदिशा र समसामयिक राजनीति´ विषयमा प्रशिक्षण दिनुभयो । स्थायी कमिटी सदस्य थापाले सबै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना गरेर पार्टीका कामलाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । थापाले एमाले मात्रै जनताको पार्टी भएकोले नेता कार्यकर्ताले खटेर जनतासँगै रहनुपर्ने भनाइ राख्नुभयो । थापाले नेपालको राजनीति अवस्था, एमाले माथि भएका देशीविदेशीको आक्रमण, पार्टीले देश र नागरिकप्रति लिएको नीति र अडानका बारेमा व्याख्या गर्नुभएको थियो ।
पार्टीका पोलिटब्युरो सदस्य गौरी ओलीले ` पार्टी निर्माण सम्बन्धि दृष्टिकोण र पार्टी सदस्यको कार्यशैली´ बारेमा प्रशिक्षण गर्नुभयो । उहाले एमाले नेता कार्यकर्ताको भूमिका, जिम्मेवारीका बारेमा व्यावहारिक पक्षमा जोड दिनुभयो ! यस्तै केन्द्रीय सदस्य दयालबहादुर शाहीले अन्य राजनीति दलहरूसँग एमालेको राजनीतिक र वैचारिक भिन्नता, केन्द्रीय सदस्य आशा विकले समाजवादको आधार निर्माणमा सुखी र समृद्द नेपाल निर्माणको राष्ट्रिय आकांक्षा,यज्ञबाहदुर बोगटीले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरद्दको संघर्ष विषयमा प्रशिक्षण गर्नुभयो । यस्तै मिसन ग्रासरूटको प्रदेशको योजना र अछामसँगको अन्तरसम्बन्धका बारेमा प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना र मिसन ग्रासरूटको अौतित्यता र आवश्यकताका बारेमा प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैसीको प्रस्तुति रहेको थियो । प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी, स्थानीय तहका प्रमुख/उपप्रमुख, जनसंगठन केन्द्रीय सदस्य र पेशसागत संगठनका जिल्ला अध्यक्षको सहभागिता रहेको थियो । नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले मिसन ग्रासरूटको जिल्लाभरीको कार्ययोजना र एमाले अछामको सांगठनिक अवस्थाका बारेमा जानकारी गराउनुभएको प्रेस चौतारीका केन्द्रीय सदस्य ढुंगानाले जानकारी दिनुभयो !
नेकपा नेकपाले अछामका १० स्थानीय तह विभाजन गरेर तीन केन्द्रीय सदस्य खटाएको छ । केन्द्रीय सदस्य गौरी ओली, दयालबहादुर शाही र आशा विक र विभिन्न पालिकाहरूमा प्रदेश कमिटीका सदस्य पनि खटाइएको छ । यस्तै एमाले अछामले पनि जिल्ला कमिटीका सदस्यहरूलाई ९१ वटै वडामा पुग्ने गरेर खटाएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
पालिका र वडामा खटाइका प्रतिनिधिहरूले दुई महिना एमालेको संगठन सुदृढीकरण, निर्माण र व्यवस्थित बनाउने छन् । साथै सरकार र पार्टीप्रति जनताका अपेक्षा संकलन गरिनेछ ।
एमाले अछामका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सञ्चालन जिल्ला सचिव भीमबहादुर रावलले सञ्चालन गर्नुभएको थियो ! मंगलसेनमा अभिमुखिकरणपछि केन्द्रीयदेखि जिल्लास्तरबाट खटाइएका व्यतिहरूले दुई महिना आफ्नो कार्यक्षेत्रमा तोकिएको काम सम्पन्न गर्नुपर्नेछ ।