सत्ता गठबन्धनको घरदैलो कार्यक्रम चौरपाटी गा.पा.- २ सोकट र वडा नं ३ गगुडामा सम्पन्न


पैरवी खबर

सत्ता गठबन्धन नेपाली काङ्ग्रेस , माओवादी केन्द्र र एकीकृत समाजवादीले घरदैलो कार्यक्रम चौरपाटी गाउँपालिका वडा नं २ सोकट र वडा नं ३ गगुडामा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा सहभागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम् प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार शेरबहादुर कुँवरले चौरपाटी गाउँपालिकाको विकास निर्माणको लागि आफूले २०६४ सालमा निर्वाचन हुँदा होस् राष्ट्रिय सभाको सदस्य हुँदा थुप्रै पहल गरेको बताउनुभएको छ । उहाँले निर्वाचन क्षेत्र नं.१ को रणनैतिक सडकलाई समेत प्रमुख प्राथमिकता दिएर अघि बढाएको धारणा व्यक्त गर्नुभयो । यस्तै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो । संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य अझै आवश्यक रहेको मन्त्री कुँवरको भनाई रहेको छ । कार्यक्रममा सहभागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द वहादुर शाहले अहिलेको गठबन्धन जनताको अनुहारमा हाँसो ल्याउनको लागि भएको धारणा व्यक्त गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जनताको करिव दुई तिहाई नजिकको सरकारको चलाउन नसक्दा अहिले फरक स्थितिवाट काँग्रेश, माओवादी केन्द्र र एकीकृत समाजवादी सहकार्यका साथ अघि बढेको बताउनुभयो । प्रदेश १ का उम्मेद्वरा मेघराज खड्काले आफू निर्वाचित भएमा चौरपाटी र साँफेबगरको विकासको लागि ठोस योजना बनाएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । घरदैलो कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय सदस्य मिना साउद, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार डम्मर सुनार, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रामबहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढा महासमिति सदस्य भगवति खनाल, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद लगायतको सहभागिता रहेको थियो ।