अछामका बाढी–पहिरो पीडितलाई सुदूरपश्चिममेली नेपाली समाजको सहयोग


पैरवी खबर

सुदूरपश्चिममेली नेपाली समाज जापान र भारतले अछामका बाढी–पहिरो पीडितहरूलाई आर्थिक सहयोग गरेको छ। भाद्र ३१ गते कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकाका बाढी पहिरोबाट मृत्यु भएका परिवार र आफन्तलाई आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिममेली नेपाली समाज जापानका उपाध्यक्ष टक्कर कुँवर र सुदूरपश्चिममेली नेपाली समाज भारतको पूना अध्यक्ष समशेर वोगटीले बाढी–पहिरो पीडित वसोवास गर्दै आएको स्थानमा पुगेर सहयोग गर्नुभएको छ ।
सुदूरपश्चिममेली नेपाली समाज जापान र भारतले मृत्यक २६ जनाका परिवारलाई १०÷१० हजारका दरले २ लाख ६० हजार सहयोग गरिएको सुदूरपश्चिममेली नेपाली समाजका जापान उपाध्यक्ष टक्कर कुँवरले जानकारी दिनुभयो । यस्तै बाढी–पहिरो पीडितबाट विस्थापति भएकालाई २० हजार रुपैया सहयोग गरिएको छ ।
सुदूरपश्चिममेली नेपाली समाज जापानका उपाध्यक्ष टक्कर कुँवर र सुदूरपश्चिममेली नेपाली समाज भारतको पूना अध्यक्ष समशेर वोगटीले तुर्माखाँद गाउँपालिका वडा नं.५ नाडाका पाँच जना परिवार गुमाएका रिठे शाहीलाई ५० हजार, वावुआमा र वहिनि गुमाएका रुपेन्द्र शाहीलाई ३० हजार र छोरी गुमाएका मिनबहादुर शाहीलाई १० हजार आर्थिक सहयोग गर्नुभएको छ । यस्तै कमलवजार नगरपालिका वडा नं. ६ विपरथका ३ छोरी गुमाएका ईन्द्रसिंह कामीलाई ३० हजार र श्रीमति, वुहारी र दुई छोरी गुमाएका नम कामिलाई ४० हजार सहयोग गरिएको उपाध्यक्ष कुँवरको भनाई रहेको छ । यस्तै कमलजवार नगरपालिका वडा नं. ८ ढाँकुका पाँच जना आफन्त गुमाएका मोती देवि दमाईलाई ४० हजार आर्थिक सहयोग गरिएको भारत पूनाका अध्यक्ष समशेर वोगटीको भनाई रहेको छ । यस्तै ढकारी गाउँपालिकामा बाढी–पहिरोबाट ज्यान गुमाएका दुई जना र साउन महिनामा बाढी–पहिरोबाट ज्यान गुमाएका परिवारलाई १०–१० हजारका दरले ५० हजार रुपैया वडा अध्यक्ष निरक शाहीलाई हस्तान्तरण गरिएको छ ।
प्राकृतिक विपत्तिबाट पीडित परिवारलाई राहत होस् भन्ने उद्देश्यले जापानबाट संकलन भएको रकम पिडित परिवारको हातमै उपलब्ध गराएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो । विपतका समयमा एक अर्कालाई सहयोग भावना देखाउँदै सबैले पिडामा महलम लगाउन हातेमाले गर्र्न आवश्यक रहेको कुँवरको भनाई रहेको छ । बाढी पहिरो पीडितका लागि सङ्कलन भएको रकम हस्तान्तरण गर्न पाउँदा पीडितलाई थोरै भएपनि सहज हुने सुदूरपश्चिममेली नेपाली समाजका भारत पूनाका अध्यक्ष वोगटीको भनाई रहेको छ। विपति परेकालाई घरमै आएर गरिएको आर्थिक सहयोगले पूर्नस्थापनामा सहयोग भएको बाढी–पहिरोबाट पाँच जना परिवार गुमाएका रिठे शाहीको भनाई रहेको छ । उहाँले अस्थायी रुपमा त्रिपालमा वसोवास गर्दै आएकाले घर निर्माणको लागि आर्थिक सहयोगको आवश्यक रहेको बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा कमलवजार नगरपालिका वडा नं. ६ का अध्यक्ष लाल बहादुर शाह, वडा नं. ८ का अध्यक्ष प्रर्जा बहादुर वोगटी, तुर्माखाँद गाउँपालिका वडा नं.८ का अध्यक्ष निरक शाही, नेकपा एमालेका तुर्माखाँद गाउँपालिका ईन्चार्ज नरेश शाही, समाजसेवि रंग ठकुल्ला, अछाम क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार चन्द प्रसाद ढुंगाना, नेपाल पत्रकार महासंघकाका सुदुरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।