शान्ति पुनर्स्थापना गृह शाखा त्रिनगर कैलालीद्धरा मानव बेचविखनको जोखिममा परेका ३९५ को उद्धार


पैरवी खबर

शेरबहादुर सार्की
कैलाली ।शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय त्रिनगर कैलालीले मानव बेचविखनको जोखिममा परेका ३९५ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको छ ।

छिमेकी मुलुक भारतको सिमानामा रहेका कैलाली जिल्लाका खग्रौला त्रिनगर नाकाबाट विभिन्न महिला ओसार पसार हुने गरेका छन् । सीमा निगरानी कार्यक्रम अन्तर्गत २०७८ साल असार देखि २०७९ साल असार सम्म कैलाली जिल्लाका खग्रौला त्रिनगर नाकाबाट ३९५ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको शान्ति पुनर्स्थापना शाखा कार्यालय कैलालीले जनाएको छ ।

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीका प्रमुख निर्मला शाहीले गाउँका सोझा महिलालाई जागिरको प्रलोभन देखाउँदै भारतमा बेचविखन गर्ने उद्देश्यले लिदै गरेका ३९५ महिला तथा बालबालिकाहरुको उद्धार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, नेपाल हुँदै भारत देखि तेस्रो मुलुक तर्फ जाने ५ हजार ६२० जना महिला तथा बालबालिकाहरूलाई मानव बेचबिखन तथा ओसार पसार विरुद्ध सूचना तथा परामर्श सेवा प्रदान गर्ने क्रममा नै मानव बेचबिखन तथा ओसार पसारको जोखिममा रहेका ३९५ जना महिलाको उद्धार गरेको हो । 

मानव बेचबिखन तथा ओसार पसार र विभिन्न हिंसा एवं यौन दुव्र्यवहारमा परेका नौ जना महिला तथा बालबालिकाको उद्धार गरेको शाहीले बताउनुभयो । शाहीका अनुसार, उद्धार गरेका ती मध्ये मानव बेचबिखन तथा ओसार पसार विरुद्ध एक जना र जबरजस्ती करणी विरुद्ध आठ जना जबरजस्ती तथा मानव ओसार पसार विरुद्ध चार जना गरी जम्मा तेह्र जनाको मुद्दा दर्ता गरी कानुनी कारवाहीका लागि सम्बन्धित् निकायमा जान उनीहरुलाई सहयोग गरेको बताउनुभयो । 

संस्थाले गत वर्ष एक जना महिलालाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइदिएको थियो । शान्ति पुनर्स्थापना गृहले कैलालीको त्रिनगरमा आफ्नो बेस बनाउँदै सीमा नाकाबाट नेपाल देखि भारत हुँदै तेस्रो मुलुकतर्फ जाने महिला तथा बालबालिकाहरूलाई मानव बेचबिखन तथा ओसार पसार विरुद्ध सूचना तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीका कार्यक्रम संयोजक निर्मला शाहीले, उद्धार गरिएका ती पीडितहरू मध्ये एक जना महिला रहेको बताउनुभयो । उहाँले भन्नुभयो, नेपालका कुनै पनि महिला दिदि बहिनीहरुले भारतका विभिन्न ठाउँमा पुगेर दुःख नपाउन र दलालको हातबाट बेचबिखन नहुन हिंसामा नपरुन भन्ने उद्देश्यले शान्ति पुनर्स्थापना गृहका कर्मचारी महिला ओसार पसार गर्ने कामलाई रोक्न दिनरात सेवामा खटिदै आएको बताउनुभयो ।

सम्पर्क कार्यालय खग्रौला परामर्शदाता अञ्जु कुँवरले, खग्रौला नाका पनि मानव ओसार पसार गर्ने मुख्य नाकाको रुपमा पर्दछ । यस नाकाबाट पनि गत वर्षको असार देखि यो वर्षको असारमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जोखिममा रहेका ४४ जना पीडित महिला तथा बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो ।

कुँवरका अनुसार गत आर्थिक वर्षमा कैलालीको टिकापुर खग्रौला नाकामा ९७६ जनालाई प्ररामर्श सेवा गरिएको थियो । त्यस मध्येकै विवाहित १५ अविवाहित २७ बालक २ गरी ४४ जना उद्धार गरिएको बताउनुभयो ।

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीका सुपरभाइजर रोहन भट्टराईले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गर्दै सीमा निगरानी, क्षमता विकास, पुनर्स्थापना तथा पुनर्मिलन र जनचेतनामूलक जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो   उहाँले भन्नुभयो, कैलाली जिल्लाको त्रिनगर सीमा नाका, टिकापुरको खग्रौला सूचना तथा परामर्श केन्द्र राखी त्यस क्षेत्रबाट हुने गरेका मानवीय ओसार पसार कार्यलाई नियन्त्रण गर्दै आइरहेका छौ । 

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीका सुपर भाइजर पुष्पा जोशीले, बिगतका वर्षमा कोरोना महामारीका कारण सीमा नाकाहरूमा हुने मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेकोले यसलाई न्यूनीकरण गर्न प्रहरी प्रशासन, स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ संस्था, समाजसेवी, बुद्धिजीवी,भारतीय प्रहरी प्रशासन लगायतका निकायसँग हातेमालो गरी आफ्ना कार्यहरू गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीमा स्थापना भएदेखि अहिले सुदूरपश्चिका बाजुरा बझाग अछाम, बैतडी, डँडेलधुरा, डोटी, दार्चुला, कैलाली र कञ्चनपुर लगायतका जिल्लाबाट मानव बेचबिखनका लागि दलालले भारतमा ओसार पसार गर्दै आएका हजारौ महिलाहरुको उद्धार गरिएको  छ ।

उद्धार गरिएका बाजुराको सात जना, बझागका २२, अछामका ११, बैतडीका डँडेल्धुराका ११, डोटीका २०, दार्चुला २, कैलालीका १९४ र कञ्चपुरका ३७ जना रहेका छन् । बाँके वर्दिया दाङ्ग लगायत अन्य जिल्लाका ९८ जना रहेका छन् ।

रोजगारी गर्ने उद्देश्यले मात्र नभइ गरिब दलित महिलाहरुको उद्धार गर्ने गरी दिनरात नाकामा खटिदै आएका शान्ति पुनर्स्थापना गृहका कर्मचारी अहिले पनि काममा नै निरन्तर लागि रहेका छन् । उनीहरुलाई नत निद्रा छ नत भोक छ नत कसै दलालको डरभर छ । रातमा पनि पोष्टमा खटिदै आएका हुन्छन् । राती सुतेको बेलामा पनि कोही महिला दिदिबहिनी दलालको हातमा नपरोस भन्ने उद्देश्यले कर्मचारी दिनरात डिउटीमा नै खटिरहेको शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीका प्रमुख शाहीले बताउनुभयो ।