रुकुम । गारा सिम्तारा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर –७ को सबैभन्दा तल रहेको गाउँ हो । ठुलिभेरीको किनारामा रहेको यो गाउँ करिब ३५ घरपरिवारको वासस्थान हो । सडक खनेपछी आएको पहिरोका कारण अहिले यो गाउँउच्च जोखिममा परेको छ । पालिकाको केन्द्रसँग जोडिएको गाराको तल्लो भेगमा नदि छ भने माथिल्लो भेगमा घना जंगल छ । माथिल्लो भेगमा सल्ला, चिउरी, रैयाज र जडीबुटी छन् । यिनै घना वन मासेर राडीज्युला – दाजे –खदीवारिङ्गे सडक निर्माणका लागि ठाउँ–ठाउँबाट सडक खनियो । स्थानीय नेताहरूको इच्छा अनुसारका सडक बने, त्यसले विपत् निम्त्यायो अहिले गाउँ नै उठिबास भयो ।
सडक खन्दा थुपारिएको माटो बगाएर माथिबाट पहिरोले चिरैचिरा पारेको छ । यो पहिरो आफैं आएको होइन, निम्त्याइएको हो । यहाँका केही घर परिवार सडक खनेपछि आएको पहिरोका कारण बिस्थापित भइसकेका छन् । अहिले उनिहरु अर्काको घरमा शरण लिन बाध्य छन् ।गारावासीको जिविको सँग जोडिएको खेतियोग्य जमिन बगरमा परिणत भएको छ । डोजरे विकासले निम्त्याएको विनाशले यहाँका नागरिकको गाँसबास खोसिदियो । खेतमा लगाएको धान र मकै बाली पहिरोले सखाप बनायो । बर्सेनि मुलुकमा बाढीपहिरो बढ्नुको कारण मानवीय गतिविधि नै प्रमुख कारण रहेको छ । कतै वनजङ्गल फडानी त कतै डोजरे विकास लगायतका कार्यले वातावरण संरक्षण हुन नसक्दा विपत्का घटनाहरु बढ्दो क्रममा छन । वर्षायाममा सम्भावित बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई राख्न छुट्टै सेल्टर स्थापना गर्न सुरक्षा निकायहरूले सुझाव दिएपनि अझैसम्म सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । सुन्दर गाउँ थियो । गारा सिम्तारा नदिको काखैमा अवस्थित यो गाउँ प्रकृतिको उपहार जस्तै देखिन्थ्यो । गाउँमा सडक नखनुन्जेलसम्म केही भएको थिएन । जब सडक गाउँमा पस्यो, सँगै खोला पनि वस्तीमा पस्यो । तलबाट नदिको डोजरे कटान माथिबाट पहिरो । दुई ढुंङ्गाको बिचमा च्यापिएको तरुल जस्तै बनेका छन यहाँका स्थानीय वासिन्दा । साउन ९ गते राती पहिरो आयो त्यसपछी स्थानीयको भागदौड सुरु भयो । जथाभावी सडक खन्दागाउँ नै जोखिममा परेको स्थानीय बताउँछन । यो घटना एक उदाहरण मात्रै हो । आठबिसकोटको अधिकांश क्षेत्रमा पहिरोको जोखीम छ । सडक निर्माणकै कारण कतै पानीका मुहान सुकेका छन, सिंचाई नहर हरु भत्किए, वन विनाश भएको छ । कतै खेतीयोग्य जमिनको सत्यानाश भएको छ ।
‘भिरालो जमिन भएकाले अन्यत्रबाट सडक लैजान आग्रह गर्यौँ तर पनि गाउँ नै जोखिममा पर्ने गरेर डोजरले सडक काट्दा अहिले विस्थापित हुनु पर्यो’ स्थानीय सुनिल आरसी भन्छन, ‘सडक आउनु भन्दा पहिले पहिरोको कुनै संभावना थिएन ।’गाउँगाउँमा सडक पुर्याउने भन्दै स्थानीय सरकारले डोजर चलाएपछी अहिले अर्काको घरमा शरण लिन परेको उनको गूनासो छ । वातावरणीय प्रभावको अध्ययन बिना जथाभावी खनिएका कच्ची सडकले खेतियोग्य जमिन र बस्तीमा प्रभाव पार्न थालेको छ । सडक खन्नुलाई मात्रै विकास भएको मान्ने गलत बुझाईका कारण स्थानीयतहहरु जता जंगल उतै डोजर, जता खेतियोग्य जमिन त्यतै डोजर चलाउन थालेका छन् ।
नागरिकको आधारभूत आवश्यकता नबुझि सडक निर्माणलाई मात्रै विकास निर्माणको पहिलो सुत्र मान्ने गलत प्रवृत्ति हो । मापदण्ड बिपरित जथाभावी डोजर चलाउँदा प्राकृतिक स्रोत साधन र मानवीय क्षति हुन सक्ने सम्भाव्यताको गहिरो अध्ययन गर्नु जरुरी देखिन्छ । स्थानीय क्षेत्रमा विपत् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका सबै सरोकारवालालाई पहिरो जाने जमिनको अस्थिरताका बारेमा पर्याप्त ज्ञान हुन समेत आवश्यक छ । प्रत्येक वडामा सडक पुर्याउने योजनाले गाउँ गाउँमा थुप्रै सडक खनिए । अहिले जता सडक उतै पहिरो छ । अधिकांश क्षेत्रमा खानेपानी आयोजनाहरू मासिएका छन् । मुहान नै सुकेपछि गाउँमा खानेपानीको पनि समस्या देखिएको छ ।सडक पुगेपछी हरेक कुरामा सहज होला भन्ने आशमा थिए गारावासी तर त्यही सडकले नै उठिबास लगाउला र आफ्नो परिवारले शरणार्थीको जिन्दगी बाँच्नु पर्ला भन्ने उनिहरुले कल्पना समेत गरेका थिएनन् । वस्तीमाथि सडक खन्दा बर्खायाममा जोखिम बढ्छ भनेर स्थानीय सरकार लाई सडक नखन्न आग्रह गरे तर गाउँवासी र नगरपालिकाविच दुईपक्षीय सम्झौता पछी सडक खनियो । सडक खनेको केहि वर्षमै २०७९ साउनमा त्यही सडक पहिरोमा परिणत भयो । धानखेती, शौचालय र पानी घट्ट पनि बगाईदियो । घरहरु उच्च जोखिममा परे । आठबिसकोट नगरपालिका भित्र करिब तीन सय किलोमिटर सडक खनिएको मध्यमा अधिकांश सडक खोल्सा र पहिरोमा परिणत भएका छन् ।
‘भाग्यमा बाँच्नु लेखेको रैछ र मान्छेलाई केही भएन । तर धानखेती बगर बन्यो उठिबास लाग्यो, पहिरोपछी आफन्तको घरमा आश्रय लिएर बसिरहेका विकाश आरसी भन्छन, ‘राति होस् या दिउँसो पानी पर्ने वित्तिकै यहाँ भागदौड मच्चिन्छ । कतै ठूलो आवाज आउँदा समेत फेरी पहिरोकै आवाज जस्तो लाग्छ । खाँदाखाँदैको गाँस पनि सुख शान्तीका साथ खान पाइदैन ।’ राहतको आश्वासन त दिइएको छ । तर मुख्य उत्पादनको रुपमा रहेको धानबाली नै नष्ट भैसकेकोले राहत को आशगर्नु सहानुभूति मात्रै हो । न त वातावरणीय प्रभाव मुल्याङ्कन छ । न त कुनै स्टमेट जथाभावी डोजरले खनिएका सडककै कारण बर्खामा पहाडी क्षेत्रमा समस्या बढ्दै गएको छ ।
विगतका वर्षहरुमा मनलाग्दी तरिकाले काटिएका सडक बर्खासँगै पहिरोमा परिणत भएका छन्। जताततै सडक काट्ने प्रतिस्पर्धा चलेको छ । जनप्रतिनिधी र ठेकेदारको मिलेमतोमा सबै स्थानीयतहले डाँडाकाँडा चिराचिरा पारेका छन् । सुख्खायाममा धमाधम काटिएका सडक बर्खाको समयमा पहिरोमा परिणत भएर ठुलो क्षति पुर्याइरहेका छन । उसो त स्थानीयतह सञ्चालन निर्देशिकाले विपत् व्यवस्थापनका क्षेत्रमा काम गर्न धेरै कार्य तोकेको छ । तर, स्थानीय तहले यसबारे कुनै चासो देखाएको देखिँदैन । स्थानीय सरकारको साँघुरो सोच र सडक निर्माण लाई नै पहिलो प्राथमिकतामा राख्नाले प्रत्येक वर्ष नागरिकले ज्यान गुमाउनुपरेको अवस्था छ ।स्थानीयतहले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने गरेका छन् । तर ऐन र कार्यविधिअनुसार जोखिम न्यूनीकरणका लागि बजे