एमालेको १० औं राष्ट्रिय महाधिवेशन सुरु हुँदै


पैरवी खबर

१० मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदै छ । ललितपुरको गोदाबरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ ।

महाधिवेशनको उदघाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उदघाटन अघि विभिन्न स्थानबाट जुलुस निस्किने छन् । ती जुलुस नारायणी नदी किनारमा पुगेर उदघाटन सभामा परिणत हुने छ । उदघाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

भिड व्यस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधनहरु प्रवेशमा रोक लगाएको छ ।

एमाले महाधिवेशनका लागि ट्राफिक व्यवस्थापन गर्न बनाइएको योजना

पूर्व-पश्चिम राजमार्ग दिनभर बन्द गरेर एमाले महाधिवेशन उद्घाटन

उदघाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उदघाटन समारोहमा सहभागी भएर एमालेलाई शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन् । विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ ।

उदघाटन समारोह सकिएपछि भोलिपल्टदेखि सौराहको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुने छ । बन्दसत्रमा २ हजार १ सय ७५ र पर्यवेक्षक १३० जना गरी कूल २ हजार ३ सय ५ जना सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरु चितवनमा भेला भएका छन् । यिनै प्रतिनिधिहरुले एमालेको नयाँ नेतृत्व चयन गर्नेछन् ।

हालसम्म अध्यक्ष पदमा केपी शर्मा ओली स्वाभाविक दाबेदार छन् । यद्यपि एमाले नेता भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेका कतिपय नेताहरु भने सर्वसहमतीबाट अध्यक्ष र पदाधिकारीहरु चयन गर्नुपर्ने पक्षमा छन् । कतिपय भने निर्वाचनमा जानुपर्ने पक्षमा छन् । एमालेको नयाँ नेतृत्व चुन्न सहमतिमा जाने कि निर्वाचन गर्ने भन्ने एकीन हुन सकेको छैन ।