मुक्त हलियाले कार्ड पाए, जमिन पाएनन


पैरवी खबर

मुक्त हलियाले कार्ड पाए, जमिन पाएनन

सुदूरपश्चिम प्रदेशका मुक्त हलिया परिवारहरुले हलिया मुक्तिको कार्ड पाए पनि जमिन नपाएको गुनासो गरेका छन्।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराले १३ औं हलिया मुक्ति दिवसको पूर्वसन्ध्यामा आइतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा हलिया मुक्त परिवारले जग्गा नपाएको गुनासो गरेका हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका ११ बस्दै आएका यदुराम सार्कीले हलिया मुक्त भएको परिचय पत्र (कार्ड) भएपनि अझै हलिया परिवारले जग्गा जमिन नपाएको बताए।

‘वास्तविक हलिया अझै छुटेका छन्, टाठाबाठाहरुले मात्रै हलिया मुक्तिको कार्ड पाएका छन्,’ उनले भने,‘ सरकारले हामीलाई रुपैयाँमा तौलेको छ। मुक्त हलियाका फाइल जिल्ला प्रशासन कार्यालय गएपनि त्यहाँ नाम काटिएका छन्।’

यस्तै कैलालीको गौरीगंगा नगरपालिकाका बस्दै आएका खेम बहादुर सार्कीले पुनर्स्थापनामा आफू छुटेको बताए। उनले सरकारले हलिया मुक्ति घोषणा गरेपनि आफूजस्तै सयौं परिवार अहिले पनि जग्गा नपाएर अरुको घरमा बस्न बाध्य भएको बताए।

गौरीगंगा नगरपालिका वडा नम्बर १ घर भएका राष्ट्रिय मुक्त हलिया समाज कैलालीका अध्यक्ष भोज बहादुर सार्कीले सरकारले आफूलाई परिचय पत्रको आधारमा दुई कोठे पक्की घर दिएको बताए। उनले घर दिए पनि राम्रोसँग पुनर्स्थापना नगरेका कारण शौचदेखि अन्य कुराको समस्या भएको बताए। उनले घर र जग्गा पाए पनि जति खुसी हुनु पर्थ्यो त्यति नभएको बताए।

संविधान सभा सदस्य हरि श्रीपाइलीले सरकारले २०६५ साल भदौ २१ गते मुक्ति घोषणा गरे पनि उचित व्यवस्थापन नगर्दा हलिया परिवार विच्चलीमा परेको बताए। हलिया परिवारको स्वास्थ्य, शिक्षा आवासको ग्यारेन्टी हुनुपर्ने उनले माग गरे।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराले सरकारसँग आयआर्जनमा जोड, प्राविधिक शिक्षालाई प्याकेजमा, आधुनिक कृषि प्रणालीमार्फत दक्ष र स्वास्थ्यमा विशेष सेवा पाउनुपर्ने माग अगाडि सारेको छ।

सरकारले १६ हजार ९ सय ५३ घरधुरीमध्ये १३ हजार ५ सय ६४ घरघुरिलाई पुनर्स्थापना गरिसकेको तथ्यांकमा उल्लेख छ। पुनर्स्थापना प्याकेज पाएका मध्ये ९ प्रतिशत घरधुरीले दोस्रो किस्ता रकम पाएका छैनन्। अझै २० प्रतिशत मुक्त हलियाहरु पुनर्स्थापनाको पखाईमा रहेका छन्।

दार्चुला, डडेल्धुरा, बैतडी, डोटी , बाजुरा र सुर्खेतमा मुद्दा प्रक्रियाद्वारा अर्ध न्यायिक निकायबाट प्रमाणिकरण भइ परिचयपत्र प्राप्त गर्नेको संख्या ५४ रहेको छ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्ला र कर्णाली प्रदेशका ३ गरी १२ जिल्लामा ‘क’ वर्गको १ हजार ८ सय ३८, ‘ख’ वर्गको ३ हजार ६ सय ६३, ‘ग’ वर्गको १ हजार १ सय ७२ र ‘घ’ वर्गको ७ हजार ५ सय ६९ परिचय पत्र वितरण गरिएको छ।

यस्तै दार्चुलामा २५, बैतडीमा १३९, बझाङमा ७९, बाजुरामा १४२ र डाटीमा ५६ जना मुक्त हलियाको प्रमाणिकरण भइ परिचयपत्र वितरण गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराले जनाएको छ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुरा तथ्यांक अनुसार सुदूरपश्चिमका ९ र कर्णालीका १२ जिल्लामा पुनस्थार्पना हुन २ हजार ७ सय ११ जना बाँकी रहेका छन्।