अछाम । नेपाली कम्युनिष्ट पार्टी जिल्ला संयोजन समितिले अछाम जिल्लाका महत्वपूर्ण विकास आयोजना कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ।
शनिबार सदरमुकाम मंगलसेनमा सम्पन्न जिल्ला संयोजन समितिको बैठकले जिल्लाको गौरव तथा महत्वका योजनाहरूलाई प्राथमिकतामा राख्दै कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीका नियमित क्रियाकलापको समीक्षा गर्दै नेता तथा कार्यकर्ताको सक्रियता वृद्धि गर्ने, पार्टी सदस्यता नवीकरणलाई प्रभावकारी बनाउने र जिल्लाका महत्वपूर्ण योजनाहरूको काम अघि बढाउन पहल गर्ने विषयमा छलफल गरेको छ।
बैठकले साँफेबगर र कमलबजार विमानस्थल सञ्चालन, बुढीगंगा जलविद्युत् आयोजना सञ्चालन, रामारोशन पर्यटकीय सडक निर्माण, जंगलघाट सडक, बैद्यनाथ, खप्तड र रामारोशन क्षेत्रको पर्यटन विकास तथा संरक्षणका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको छ।
त्यसैगरी, स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहको अवस्था कमजोर रहेको विषयमा पनि बैठकमा गम्भीर छलफल भएको छ। नागरिकले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सशक्त आवाज उठाउने निर्णय गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक प्रकाश शाहको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाको समग्र विकास, जनसरोकारका सवाल तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गरेको पहल साउदले जानकारी दिनुभयो ।


