अछाम । ‘अक्षरमा समाज, काव्यमा विचार’ भन्ने मूल नारासहित अछाममा आयोजित ‘अछाम लोक अन्तर्ध्वनि–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
अछाम गजल मञ्चको आयोजना तथा साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा शनिबार साँफेबगरमा कार्यक्रम सम्पन्न भएको हो। साहित्य, सिर्जना, गजल, कविता र लोकसङ्गीतलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमी, सर्जक तथा सङ्गीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा गजल सङ्ग्रह ‘उषाकिरण’ को १५औँ अङ्क विमोचन गरिएको थियो। विमोचित पुस्तकबारे मनोज विवशले प्रकाश पार्नुभएको थियो भने रावल कृष्णले पुस्तकको समीक्षा गर्नुभएको थियो। उक्त सत्रको सहजीकरण टेकराज भण्डारीले गर्नुभएको थियो।
त्यसैगरी, हेमन्त शिशिर र निरञ्जना चन्द (निरु) ले विशेष कविता वाचन गर्दै दर्शक तथा स्रोतामाझ साहित्यिक भाव प्रस्तुत गर्नुभएको थियो। उक्त सत्रको सहजीकरण पहल असिमले गर्नुभएको थियो।
कार्यक्रममा लोकदेउडा गायक मोहन क्षितिज र झुप्री भण्डारीले आकर्षक सांगीतिक प्रस्तुति दिनुभएको थियो। उहाँहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
यस्तै, गजल सन्ध्या सत्रमा गजलकार लक्ष्मण संगम र जयन्ता सुधाले आफ्ना गजल प्रस्तुत गर्नुभएको थियो। उक्त सत्रको सहजीकरण हिमाल उदासीले गर्नुभएको थियो।
गजल मञ्चका अध्यक्ष भीम सरोवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माननीय भरतकुमार स्वार प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा अछाम निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य माननीय टीका संग्रौला ‘ज्वाला’, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवर र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सदस्य भोजराज भाट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
मिन सरोवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन अछाम गजल मञ्चका सचिव भूपेन्द्र भण्डारीले गर्नुभएको थियो।
‘अछाम लोक अन्तर्ध्वनि–२०८३’ ले स्थानीय साहित्य, गजल, कविता तथा लोकसङ्गीतको प्रवर्द्धनसँगै सर्जकहरूबीच सिर्जनात्मक संवाद र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।


