साँफेबगर विमानस्थल सञ्चालनको माग गर्दै साँफेबगरका पत्रकारद्वारा सांसदको ध्यानाकर्षण


पैरवी खबर

अछाम । लामो समयदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थल नियमित सञ्चालनमा ल्याउन साँफेबगरस्थित पत्रकारहरुले प्रतिनिधिसभा सदस्यको ध्यानाकर्षण गराएका छन्।

सुदूरपश्चिम प्रदेशको पर्यटकीय तथा रणनीतिक महत्व बोकेको अछाम जिल्लास्थित साँफेबगर विमानस्थल लामो समयदेखि सञ्चालनविहीन अवस्थामा रहेकाले यसको पुनः सञ्चालनका लागि पहल गर्न माग गरिएको हो।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय भरत कुमार स्वार र अछाम २ माननीय टीका संग्रौला (ज्वाला ) लाई सम्बोधन गर्दै एक कार्यक्रमका बीच ध्यानाकर्षण पत्रमा बुझाइएको छ ।
विमानस्थल सञ्चालन नहुँदा अछामवासीले आवागमन, व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समस्या भोग्नुपरेको उल्लेख गरिएको छ।

साँफेबगर विमानस्थल नियमित सञ्चालनमा आएमा अछामको प्रसिद्ध पर्यटकीय गन्तव्य रामारोशन क्षेत्र, ऐतिहासिक तथा धार्मिक स्थल वैद्यनाथ धाम, प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तड राष्ट्रिय निकुञ्ज तथा बडिमालिका लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सहज हुने विश्वास व्यक्त गरिएको छ।

पत्रमा सुदूरपश्चिमको विकासको ढोका खोल्ने सेती राजमार्ग, मंगलसेन–जंगलघाट–चिसापानी सडक तथा बुढीगंगा जलविद्युत् आयोजनाजस्ता विकासका योजनाहरूलाई समेत तीव्रता दिन माग गरिएको छ।