कमलबजारमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड


पैरवी खबर

अछाम । अछामको कमलबजारमा शान्ति सुरक्षा, लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण र नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय कमलबजार अछामको आयोजनामा सोमबार बिहान कार्यालय परिसरमा सञ्चालन भएको कार्यक्रम कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक पबिन्द्रबहादुर बमको अध्यक्षता तथा कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा कमलबजार नगरपालिकाका उपप्रमुख सारदा कुमारी बिष्ट (कुँवर), अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकाल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय अछामका प्रमुख अनुसन्धान अधिकृत अशोक पौडेल विशिष्ट आतिथि रहनुभएको थियो।

कार्यक्रममा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण, साइबर अपराधको रोकथाम तथा नियन्त्रण, समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण र घरेलु मदिरा नियन्त्रणका विषयमा छलफल गरिएको थियो।
त्यसैगरी प्रहरीप्रतिको नागरिकका गुनासा, सुझाव तथा अपेक्षाका विषयमा समेत छलफल गर्दै प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, पत्रकार, होटल व्यवसायी तथा सर्वसाधारण नागरिकसहित करिब ६० जनाको सहभागिता रहेको थियो।
नागरिक सुनुवाइ कार्यक्रमले स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनीकरण गर्न तथा प्रहरी सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।