अछाम । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको मेल्लेख शाखाले सदस्यहरूलाई वित्तीय अनुशासन, बचत तथा कर्जाको सदुपयोग र कृषि एवं पशुपालन बीमाबारे जानकारी दिने उद्देश्यले एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
सोमबार, मेल्लेख ३ ठाटीमा आयोजित कार्यक्रममा संस्थाका सदस्यहरूलाई वित्तीय व्यवस्थापन, बचतको महत्त्व, कर्जाको उचित उपयोग, तरकारी खेती, पशुपालन तथा उद्यमशीलता विकासका विषयमा जानकारी दिइएको हो।
कार्यक्रममा शाखा प्रमुख शेरबहादुर सोडारीले संस्थाबाट सदस्यहरूलाई उपलब्ध गराइने बचत तथा कर्जासम्बन्धी सेवा–सुविधाबारे जानकारी गराउँदै वित्तीय अनुशासन कायम गर्न, नियमित बचत गर्न र लिएको कर्जालाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, उद्यम विकास सहजकर्ता रामबहादुर बुढाले तरकारी खेती तथा पशुपालन व्यवसायको सम्भावना, उद्यमशीलता विकास र कृषि तथा पशुपालन बीमाको महत्त्वबारे सहजीकरण गर्नुभयो। उहाँले कृषि तथा पशुपालन व्यवसायमा आइपर्न सक्ने जोखिम न्यूनीकरण गर्न बीमाले खेल्न सक्ने भूमिकाबारे समेत जानकारी गराउनुभयो।
शाखाका सहायक कर्मचारी चन्द्रबहादुर बुढाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले सदस्यहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्नुका साथै कृषि तथा पशुपालन व्यवसायलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारसँगै सदस्यहरूलाई बचत, कर्जा व्यवस्थापन, उद्यमशीलता र बीमाबारे सचेत बनाउने यस्ता कार्यक्रमले स्थानीय स्तरमा उत्पादनमूलक आर्थिक गतिविधि प्रवर्द्धन गर्न सहयोग पुर्याउन सक्ने देखिन्छ।


