मेल्लेखमा हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न


पैरवी खबर

अछाम । बालबालिकाको समग्र विकास, संरक्षण तथा समृद्धिका क्षेत्रमा क्रियाशील बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम मेल्लेख गाउँपालिकामा सम्पन्न भएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग,मेल्लेख गाउँपालिकाकाे समन्वय तथा आस्था नेपाल र वाक नेपालको संयुक्त आयोजनामा साेमबार मेल्लेख गाउँपालिकाकाे कार्यलयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हातेमालो परियोजनाअन्तर्गत सन् २०२६ मा सञ्चालन गरिएका विभिन्न क्रियाकलाप, प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सिकाइहरूको समीक्षा गर्नुका साथै सन् २०२७ मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम र भावी कार्ययोजनाका विषयमा सरोकारवालाहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्ला ,वाक नेपालका महिला आर्थिक ससक्तिकारण अधिकृत सृजना महरले परियोजनाका गतिविधि, प्रगति तथा आगामी योजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणका क्रममा बाल संरक्षण, बालबालिकाको समग्र विकास, समुदायको सहभागिता, स्थानीय तहसँगको सहकार्य तथा परियोजनामार्फत सञ्चालन भइरहेका विभिन्न कार्यक्रमका विषयमा जानकारी गराइएको थियो । साथै आगामी वर्षका गतिविधिलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउन स्थानीय सरकार तथा सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो ।

आस्था नेपालका जिल्ला कार्यसमिति सदस्य गंग बहादुर बुढाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद प्रमुख अतिथि रहनु भएकाे थियो ।
कार्यक्रममा बोल्दै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले हातेमालो परियोजनाले मेल्लेखका बालबालिकाको संरक्षण, विकास र समृद्धिका क्षेत्रमा गरिरहेको काम प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै बालबालिकाको हितमा गाउँपालिकाकाे तर्फबाट आवश्यक समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले हातेमालो परियोजनाले मेल्लेखमा बालबालिकाको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरेका थिए । उनीहरूले परियोजनाका गतिविधिले बालबालिकाको हित, संरक्षण र विकासमा सकारात्मक योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमसहित अघि बढ्न सुझाव तथा हौसला प्रदान गरेका थिए । कार्यक्रममा मेल्लेखका ८ वटै वडा का वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत धाैलाराम सार्कि विषगतशाखा प्रमुख तथा आस्था नेपाल वाक नेपालका सामाजिक परिचालक लगायत सराेकारवालकाे उपस्त रहेकाे थियाे । कार्यक्रमकाे संचालन आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिंह सार्किले गरेका थिए ।