अछाममा दशैं–तिहार लक्षित विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना


पैरवी खबर

अछाम । नेपालीहरूको प्रमुख चाड दशैं तथा तिहारलाई लक्षित गर्दै अछाममा नागरिक तथा यात्रुको सहजताका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मंगलसेन, अछामका अनुसार चाडपर्वको समयमा यात्रुको आवतजावत बढ्ने भएकाले सुरक्षा तथा यात्रु सहजीकरणका लागि प्रहरी टोली खटाई सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षबाट यात्रु तथा नागरिकलाई आवश्यक सहयोग, सूचना तथा सुरक्षा सम्बन्धी सेवा निरन्तर उपलब्ध गराइने प्रहरीले जनाएको छ।

यात्रु सहायता कक्ष स्थापना गरिएका स्थानहरू साँफेबगर–४ छिपेखोला बजार, कमलबजार–१ र २ स्थानीय बजार, साँफेबगर–१० घुघुरकोट, मंगलसेन–५ पोस्ट नजिक, साँफेबगर–३ हाटबजार, चौरपाटी–६ चौखुट्टे, बान्नीगढी जयगढ–३ बसपार्क, पञ्चदेवल विनायक–४ बेलखेत, पञ्चदेवल विनायक–३ बजार र साँफेबगर–८ का सार्वजनिक स्थान रहेका छन्।

प्रहरीले चाडपर्वका बेला यात्राका क्रममा कुनै समस्या परेमा नजिकै रहेको यात्रु सहायता कक्षमा सम्पर्क गरी आवश्यक सहयोग लिन नागरिक तथा यात्रुलाई आग्रह गरेको छ।