बालमैत्री र पोषणमैत्री पालिका बनाउने अभियानमा मेल्लेख गाउँपालिका
बालबालिका लक्षित बजेट बढाउनेदेखि बालविवाह न्यूनीकरणसम्म दुई दिने अभिमुखीकरण
असाेज ४ मेल्लेख
अछाम, मेल्लेख । बालबालिकाको अधिकार, पोषण तथा संरक्षणलाई स्थानीय विकासको प्राथमिकतामा राख्दै २०८७ सालभित्र बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्यका साथ मेल्लेख गाउँपालिकामा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पोषणमैत्री स्थानीय शासन (NFLG), बालमैत्री स्थानीय शासन (CFLG) तथा बालबालिका लक्षित बजेट वृद्धि गर्ने विषयमा केन्द्रित कार्यक्रममा मेल्लेख गाउँपालिकाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे सरोकारवालाबीच गहन छलफल भएको हो।
कार्यक्रममा बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने गरी स्थानीय तहको नीति, कार्यक्रम तथा बजेटमा बालबालिकाको सवाललाई प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिइएको थियो। गाउँपालिकाको हालसम्मको अवस्था विश्लेषण गर्दा बालबालिकाको क्षेत्रमा विनियोजन हुने बजेट अझै न्यून रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा यसको दायरा विस्तार गर्ने विषयमा छलफल गरिएको थियो।
अभिमुखीकरणका क्रममा बालमैत्री स्थानीय शासनका सूचक तथा पोषणमैत्री स्थानीय शासनका सूचकको वर्तमान अवस्था, पूरा गर्न बाँकी सूचक तथा आगामी दिनमा सञ्चालन गर्नुपर्ने गतिविधिका विषयमा समेत छलफल भएको थियो।
त्यस्तै, बालविवाह न्यूनीकरण, मर्यादित महिनावारी, बाल संरक्षण तथा बालबालिकाको समग्र अवस्थालाई स्थानीय तहको योजना र बजेटसँग जोडेर समाधानका लागि रणनीति तथा कार्यनीति निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का, वडा अध्यक्षहरूको तर्फबाट वडा नम्बर ३ का अध्यक्ष नौले रावल तथा बाल सञ्जालकी अध्यक्ष शुशिल्ता नेपालीले बालबालिकाको अवस्था, आवश्यकता तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा सुझाव राखेका थिए।
गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बालबालिकाको अधिकार र भविष्य सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउँदै बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन निर्माणका लागि गाउँपालिकाले आवश्यक नीति, योजना र बजेटलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बालबालिका लक्षित बजेटका लागि पैरवी, बजेटको प्रभावकारी कार्यान्वयन तथा बालबालिकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकता दिने विषयमा समेत छलफल गरिएको थियो।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग, मेल्लेख गाउँपालिकाको समन्वय तथा वाक नेपालको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत चक्र विष्ट तथा वाक नेपाल कार्यसमिति सचिव एवं प्रशिक्षक सुरत बहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, बाल प्रतिनिधि, वाक नेपालका सामाजिक परिचालक रमेश भुललगायत सरोकारवालाको सहभागिता रहेको थियो।



