अछाम । अछामको साँफेबगरमा महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकाससम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकास, स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह तथा नेतृत्वसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला आज सम्पन्न भएको हो।
बुढीगंगा नगरपालिका, बाजुरा र मेल्लेख गाउँपालिका, अछामको समन्वयमा सञ्चालन भएको कार्यशालालाई जर्मन कोअपरेसन र करुणा संस्थाले आर्थिक सहयोग गरेका थिए। रीड नेपालद्वारा सञ्चालित गरिमा–।। परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यशालामा बुढीगंगा नगरपालिका, बाजुराका महिला जनप्रतिनिधि, मेल्लेख गाउँपालिकाका महिला जनप्रतिनिधि तथा मेल्लेख गाउँपालिकाका वडा स्तरीय महिला सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
ग्रीनतारा नेपालका कार्यकारी निर्देशक रामचन्द्र सिलवालको अध्यक्षतामा सम्पन्न कार्यशालामा रीड नेपालका तालिम प्रबन्धक तथा प्रशिक्षक केशवदेव गिरीले सहजीकरण गर्नुभएको थियो।
दुईदिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बिक्रम जोशीले मन्तव्य राख्नुभएको थियो भने संचालन ग्रिन तारा नेपालका प्रमिता बस्यालले गर्नुभएको थियो ।
कार्यशालामा सहभागी महिला जनप्रतिनिधिहरूले तालिमबाट नेतृत्व क्षमता विकास, आफ्ना जिम्मेवारीप्रतिको बुझाइ तथा स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्राप्त भएको बताएका छन्।
यस कार्यशालाले महिला जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्व क्षमता पहिचान गर्न र स्थानीय तहमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा दिएको छ। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै समुदाय र महिलाको पक्षमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता गरेका छन ।


