साँफेबगर ।
६२ औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा अछामको साँफेबगर नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। साँफेबगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो।
विद्यार्थीहरुको बौद्धिक क्षमता, ज्ञान तथा सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा किण्डर गार्डेन एकेडेमी प्रथम, बर्चहिल एकेडेमी द्वितीय र जनकल्याण माध्यमिक विद्यालय तृतीय भएका छन्।
‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आयोजित बाल दिवस कार्यक्रम साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको अध्यक्षमा भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भरत कुमार स्वार सहभागी हुनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, विभिन्न वडाका वडा अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बालबालिकाको अधिकार, संरक्षण, शिक्षा तथा उनीहरुको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापको महत्वका विषयमा समेत चर्चा गरिएको थियो। विद्यालय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामान्य ज्ञान र अध्ययन प्रतिको रुचि बढाउन सहयोग पुग्ने बताईएको छ।
कार्यक्रममा साझेदार संस्थाहरु आस्था नेपाल, वाक नेपाल, समविकास नेपाल, सेवक नेपाल, वल्र्ड भिजन नेपाल र साँफेबगर सिकाई केन्द्र लगायतको सहयोग रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यार्थी तथा विद्यालयलाई आयोजकले धन्यवाद व्यक्त गरेको थियो। कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिकाको शिक्षा शाखाका हिरादत्त भट्ट, झंकर खनाल र पालिका स्तरिय बाल संजालका अध्यक्ष जेनिसा भाटले गर्नु भएको थियो।


