अछाम– राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायभित्रै हुने छुवाछूत तथा भेदभावका घटनाविरुद्ध कानुनी उपचार खोज्न आग्रह गरेका छन्। उनले दलित समुदायभित्रै विभेद र छुवाछूतका घटना भएमा राष्ट्रिय दलित आयोग तथा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गर्दै दोषीमाथि कानुन अनुसार कारबाही हुने बताएका हुन्।
स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विश्वकर्माले जातीय भेदभाव तथा छुवाछूत कुनै पनि रूपमा स्वीकार्य नहुने स्पष्ट पारे। उनले संविधान र कानुनले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै दलित समुदायभित्रै हुने विभेदलाई समेत अन्त्य गर्न आवश्यक रहेको बताए।
“दलितभित्र नै छुवाछूत र भेदभाव भयो भने आयोग वा अन्य सम्बन्धित निकायमा उजुरी हाल्नुस्, कानुनअनुसार कारबाही हुन्छ,” अध्यक्ष विश्वकर्माले भने।
उनले दलित समुदायको हक, हित, अधिकार र क्षमता अभिवृद्धिका लागि आयोग निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै स्थानीय सरकार र जनप्रतिनिधिहरूले समेत दलितमैत्री नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। अध्यक्ष विश्वकर्माले नेपालमा अझै पनि विभिन्न रूपका जातीय विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि राज्यका सबै निकाय, जनप्रतिनिधि र समुदाय एकजुट भएर लाग्नुपर्ने बताए। �


