२० रोपनीमा मकै खेती गरेर आम्दानी गर्दै हातेमालो बहुउद्देश्यीय सहकारी


पैरवी खबर

अछाम । अछामको साँफेबगर स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मकै खेतीबाट राम्रो आम्दानी गर्न सफल भएको छ। सहकारीले यस वर्ष २० रोपनी क्षेत्रफलमा व्यावसायिक मकै खेती गरेको हो।
सहकारीले उत्पादन गरेको ताजा हरियो मकै अहिले धमाधम बिक्री भइरहेको छ। हालसम्म मात्रै करिब ४१ हजार रुपैयाँ बराबरको मकै बिक्री भइसकेको सहकारीले जनाएको छ। स्थानीय बजारमा मकैको माग बढ्दै गएपछि ग्राहकहरू प्रत्यक्ष रूपमा बारीमै पुगेर मकै किन्ने गरेका छन्।
सहकारीका अध्यक्ष सुरत भुलले मकै खेतीमार्फत कृषि उत्पादन बढाउनुका साथै स्थानीय स्तरमै रोजगारी र आम्दानी सिर्जना गर्ने उद्देश्यले मकै खेती गरिएको बताए। उनले किसानलाई आधुनिक र व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सहकारीले निरन्तर पहल गरिरहेको जानकारी दिए।
त्यस्तै सहकारीका प्रबन्ध निर्देशक महेश्वरी बुड्थापाले ताजा तथा गुणस्तरीय मकै सस्तो र सहज मूल्यमा उपलब्ध गराइएको बताउँदै सबैलाई स्थानीय उत्पादनको उपयोग गर्न आग्रह गरेका छन्।
स्थानीय उत्पादनप्रति बढ्दो आकर्षणका कारण सहकारीको मकै खेती उदाहरणीय बन्दै गएको छ। कृषि क्षेत्रमा सहकारीको सक्रियताले स्थानीय किसानलाई समेत उत्साहित बनाएको छ। सहकारीले आगामी दिनमा थप क्षेत्रफलमा खेती विस्तार गर्ने योजना बनाएको जनाएको छ।
साथै सहकारीले तरकारी खेती लगायत भैसीपालन व्यवसाय पनि गर्दै आएको छ , यो सहकारी अहिले जिल्लामै नमुनाका रुपमा चिनिएको छ ।