तुका मावि खप्तडका SEE उत्तीर्ण विद्यार्थी तथा शिक्षक सम्मानित


पैरवी खबर

अछाम — साँफेबगर नगरपालिका वडा नं. १२ को आयोजनामा तुका माध्यमिक विद्यालयका शैक्षिक सत्र २०८२/०८३ का SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा खादा सहित सम्मान गरिएको छ। साथै विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई समेत सम्मान गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष जनक कडायतको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिकामा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएको कार्यक्रममा इन्जिनियर निराजन शाह, जिन्सी शाखा प्रमुख लगायत नगरपालिकाको टोलीको सहभागिता रहेको थियो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा वक्ताहरुले विद्यार्थीहरुको मेहनत, शिक्षकहरुको अथक प्रयास र अभिभावकहरुको साथ–सहयोगकै कारण उत्कृष्ट नतिजा सम्भव भएको बताएका थिए।

वडा नं. १२ खप्तडले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले यस्तो सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा सहभागीहरुले यस्ता प्रेरणादायी कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह, आत्मविश्वास र जिम्मेवारी भावना विकास हुने विश्वास व्यक्त गरेका थिए।
शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुले अझ मेहनतका साथ अध्ययन गरी अनुशासित, सक्षम र जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीयहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो। तुका माध्यमिक विद्यालयको शैक्षिक प्रगति अझ उचाइमा पुगिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।