साँफेबगर । साँफेबगर नगरपालिका–४ एयरपोर्ट बजारमा रहेको गणेश मन्दिरमा हरेक वर्ष आयोजना हुँदै आएको गणेश मेला यस वर्ष पनि विविध कार्यक्रमसहित मनाइने भएको छ।
साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा स्थानीय परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको गणेश मेलामा गणेश भगवानको पूजा आराधनासँगै स्थानीय कला तथा संस्कृतिमा आधारित न्याउले/देउडा खेललगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
साँफेबगर नगरपालिकामा अवस्थित गणेश मन्दिरमा यहि भदौ ३० गते गणेश चतुर्थीका दिन गणेशको मूर्ति स्थापना गरी नियमित पूजा आराधना गर्ने र गणेश चतुर्दशीका दिन विशेष पूजासहित मेला आयोजना गरी मूर्ति विसर्जन गरिने छ ।
बजार समिति अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि र बजारबासीको सहभागिता रहेको थियो , बैठक मा गणेश मेला भब्यताका साथ सम्पन्न गर्न मुल आयोजक समिति , आर्थिक समिति र पुजा समिति गठन गरिएको छ । आवश्यक समितिहरु अर्को बैठकमा गठन गरिने छ ।
मेलामा साँफेबगर नगरपालिका तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु तथा स्थानीयवासी सहभागी हुने गरेका छन्। गणेश मेलाले धार्मिक आस्थासँगै स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ।
यस वर्षको मेलालाई थप व्यवस्थित र आकर्षक बनाउन आयोजक तथा स्थानीयवासीले आवश्यक तयारी गरिरहेका छन्।


