साँफेबगर, साँफेबगर नगरपालिका–९ स्थित बुढाकोट माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बुढाकोटका पूर्व गाविस अध्यक्ष तथा समाजसेवी हिक्मत कुँवरको आर्थिक सहयोगमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।
समाजसेवी कुँवरले करिब ३६ हजार रुपैयाँ बराबरका ३ सय बिरुवा उपलब्ध गराउनुभएको थियो। तीमध्ये २ सय बिरुवा बुढाकोट माध्यमिक विद्यालय परिसरमा रोपिएको छ भने बाँकी १ सय बिरुवा साँफेबगर नगरपालिका–२, श्रीकोटस्थित त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रमअन्तर्गत फलफूल तथा विभिन्न प्रजातिका गरी १४ किसिमका बिरुवा रोपिएको छ। विद्यालय परिसरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले वृक्षारोपण गरिएको बताइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति अछामका अध्यक्ष नरेन्द्र कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन कुँवर, वडा अध्यक्ष दीपक कुँवर, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष धुर्ब थापा, वडा सदस्य लालबहादुर कुँवर, समाजसेवी सर्जन परियार, प्रधानाध्यापक चक्रबहादुर कुँवर, शिक्षक, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षण तथा विद्यालय परिसरको सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजसेवी हिक्मत कुँवरप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।


