किशोरी सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न


पैरवी खबर

अछाम । समविकास नेपालद्वारा सञ्चालित किशोरी सशक्तिकरण परियोजना अन्तर्गत चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट स्थित दशपल्लेपानी माध्यमिक विद्यालयमा सञ्चालन भई रहेको BLOP (Better Life Option Programme) कक्षाको अनुगमन गरिएको छ।
अनुगमनका क्रममा किशोरकिशोरीहरुले समुदायमा सञ्चालन गरेका गतिविधि बारे जानकारी लिईएको थियो। छाउपडी प्रथा, बालविवाह तथा समुदायमा हुने विभेद न्यूनीकरणका लागि गरिएका अभ्यास, त्यस क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपाय बारे सहभागी बीच छलफल गरिएको थियो।
कार्यक्रममा किशोरकिशोरीहरुले BLOP कक्षाबाट प्राप्त ज्ञान, सीप तथा आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए। उनीहरुले सिकेका कुरालाई व्यवहारमा लागू गर्दा समुदायमा सकारात्मक परिवर्तन देखिन थालेको जानकारी दिएका थिए।
अनुगमन कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले किशोरकिशोरी र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरेकोमा समविकास नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो। उहाँले यस्ता कार्यक्रमलाई दीगो रूपमा सञ्चालन गर्दै गाउँपालिकाका अन्य वडाहरुमा समेत विस्तार गर्न सुझाव दिनु भयो। साथै आगामी दिनमा पालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्वता पनि व्यक्त गर्नु भयो।
कार्यक्रममा वडा अध्यक्ष रण बहादुर साउद, कार्यपालिका सदस्य राधा देवी साउद, वडा सदस्य राधिका पार्की, दशपल्लेपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव बहादुर ऐडी, समविकास नेपालका पशुपति कुँवर, जानकी बोहरा, आरती लोहार, सहायक शिक्षकहरु तथा पत्रकार एकेन्द्र महता र रमेश परियार लगायतको सहभागिता रहेको थियो।
अनुगमन सम्पन्न भए पश्चात चौरपाटी गाउँपालिकामा किशोरी सशक्तिकरण परियोजनाको वार्षिक समीक्षा कार्यक्रम समेत गरिएको थियो।

समविकास नेपालले सञ्चालन गरि रहेको उक्त परियोजनाको मुख्य उद्वेश्य स्थानीय संस्थाहरुको क्षमता अभिवृदि गर्दै बाल विवाह रोकथाम तथा प्रतिकार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउनु रहेको छ। परियोजनाले बालिका केन्द्रित तथा समुदायको नेतृत्वमा सञ्चालन हुने पहलहरुलाई सहयोग गर्दै बाल विवाह न्यूनीकरण गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रम चौरपाटी गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा सञ्चालनमा रहेको छ।