किशोरी सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न


पैरवी खबर

अछाम – समविकास नेपालद्वारा सञ्चालित किशोरी सशक्तीकरण परियोजनाअन्तर्गत चौरपाटी गाउँपालिका–२ सोकटस्थित दशपल्लेपानी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको BLOP (Better life Option programm( उज्जल भविष्यको छनाैट कार्यक्रम) कक्षा अनुगमन गरिएको छ।
अनुगमनका क्रममा किशोरकिशोरीहरूले समुदायमा सञ्चालन गरेका गतिविधिबारे जानकारी लिइएको थियो। छाउपडी प्रथा, बालविवाह तथा समुदायमा हुने विभेद न्यूनीकरणका लागि गरिएका अभ्यास, त्यस क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे सहभागीबीच छलफल गरिएको थियो।
कार्यक्रममा किशोरकिशोरीहरूले VLOP कक्षाबाट प्राप्त ज्ञान, सीप तथा आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए। उनीहरूले सिकेका कुरालाई व्यवहारमा लागू गर्दा समुदायमा सकारात्मक परिवर्तन देखिन थालेको जानकारी दिएका थिए।
अनुगमन कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले किशोरकिशोरी र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरेकोमा समविकास नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमलाई दीगो रूपमा सञ्चालन गर्दै गाउँपालिकाका अन्य वडाहरूमा समेत विस्तार गर्न सुझाव दिनुभयो। साथै आगामी दिनमा पालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष रणबहादुर साउद, कार्यपालिका सदस्य राधादेवी साउद, वडा सदस्य राधिका पार्की, दशपल्लेपानी माविका प्रधानाध्यापक शिवबहादुर ऐडी, समविकास नेपालका पशुपति कुँवर, जानकी बोहरा, आरती लोहार, सहायक शिक्षकहरू तथा पत्रकार एकेन्द्र महता र रमेश परियारलगायतको सहभागिता रहेको थियो।
अनुगमन सम्पन्न भएपछि चौरपाटी गाउँपालिकामा किशोरी सशक्तीकरण परियोजनाको वार्षिक समीक्षा कार्यक्रमसमेत गरिएको थियो।

समविकास नेपालले सञ्चालन गरिरहेको उक्त परियोजनाको मुख्य उद्देश्य स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्दै बालविवाह रोकथाम तथा प्रतिकार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउनु रहेको छ। परियोजनाले बालिकाकेन्द्रित तथा समुदायको नेतृत्वमा सञ्चालन हुने पहलहरूलाई सहयोग गर्दै बालविवाह न्यूनीकरण गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रम चौरपाटी गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा सञ्चालित छ ।