साँफेबगर ।
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान गरिएको छ। रैथाने बालीको संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको पैरवी अभियान साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको हो।
डब्लू एचएच, पीसविन, वाक नेपाल र समविकास नेपालको साझेदारीमा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिला सहभागिता (ध्भ्–ऋब्ल्) परियोजनाको सहयोग र वडा कार्यालयको समन्वयमा रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अब देखि आफुहरुले बजारमा पाईने बिसादी मिसाएका कुनै पनि खानेकुराहरु नखाने कार्यक्रमका सहभागीले प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय रुपमा परम्परागत ढंगले खेती हुँदै आएका बालीहरु, कोदो, फापर, जौ, गहुँ, कागुनो, स्थानीय धानका जातहरु, गेडागुडी, विभिन्न तरकारीका जात आदिको संरक्षण गर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका थिए।
कार्यक्रमको बारेमा जानकारी गराउँदै समविकास नेपालका पुन्ना कुँवरले रैथाने बालीहरु पौष्टिक तत्वले भरिपूर्ण भएको बताउँदै आत्म निर्भर बन्नका लागि पनि रैथाने बालीले ठुलो मद्धत गर्ने भएकोले संरक्षण गर्न जरुरी रहेको बताउनु भयो।
कार्यक्रममा बोल्दै वडा सदस्य मथुरा बि.क.ले पुराना रैथाने बालीहरुलाई संरक्षण र सम्वर्धन गर्न जरुरी रहेको बताउनु भएको थियो। उहाँले आफु वडा कार्यालयको तर्फबाट लोप भएका र लोपोन्मुख रैथाने बालीको सोध खोज गरि किसानहरुलाई उत्पादन गर्ने खालका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताउनु भएको थियो।
उहाँले रैथाने बालीहरुको नेपाली संस्कार, चाडपर्व र परम्परागत खानासँग जोडिएको बताउनु भयो। जसले सांस्कृतिक पहिचान जोगाउनुका साथै प्रशोधन, बजारीकरण र मूल्य अभिवृद्धि गर्न सके स्थानीय रोजगारी र आम्दानी बढाउन सक्ने पनि पनि बताउनु भयो।
वडा सदस्य मथुरा बि.क.को अध्यक्षतामा भएको पैरवी अभियान कार्यक्रममा डब्लूएचएचका रमेश जोशी, घुघुरकोट स्वास्थ्य चौकीका दिलमाया अधिकारी, पार्वती न्यौपाने, इलाका प्रहरी कार्यालय ठाँटीका भिम बहादुर रावत, टेक महरा समविकास नेपालका पुन्ना कुँवर कृषक समुहका पदाधिकारी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार एकेन्द्र महताले गर्नु भएको थियो।


