न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न


पैरवी खबर

साँफेबगर ।

न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैंगिक हिंसा निवारण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिका न्यायीक समितिद्धारा सचेताना कार्यक्रमको आयोजना गरिएको हो।

सचेताना कार्यक्रममा न्यायीक समितिको काम, कर्तव्य र अधिकार बारे प्रशिक्षण गराईएको थियो। न्यायीक समिति स्थानीय स्तरमै छिटो, सहज र सुलभ न्याय दिने प्रभावकारी माध्यम भएको र यसको अधिकार र प्रक्रिया बारे नागरिक सचेत हुन आवश्यक रहेको कुरा सहभागीलाई अवगत गराईएको थियो।

सचेतना कार्यक्रममा लैंगिक हिंसा निवारण सम्बन्धी साँफेबगर नगरपालिका लैंगिक हिंसा निवारण कोषका सदस्य अप्सरा कुँवरले सहजीकरण गर्नु भएको थियो। उहाँले लैंगिक हिंसा अन्त्यका लागि समुदाय स्तरबाटै आवाज उठाउनु पर्छ। हिंसा सहेर बस्नु समाधान होईन, उजुरी र सचेतना नै परिवर्तनको पहिलो कदम हो भन्दै सहभागीलाई प्रशिक्षण गराउनु भएको हो।

सचेतानामुलक कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर उपप्रमुख एवम न्यायीक समिति संयोजक शिव बहादुर कुँवरले स्थानीय तहमा हुने साना–ठूला विवाद समाधानमा न्यायीक समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो। उहाँले लैंगिक हिंसा अन्त्यका लागि समुदाय स्तरबाटै सचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो।

उहाँले भन्नु भयो, न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न र लैंगिक हिंसा मुक्त समाज निर्माण गर्न हामी सबैको सहकार्य आवश्यक छ। स्थानीय तहबाटै सचेतना फैलाउँदै लैजान सके मात्र दिगो परिवर्तन सम्भव हुन्छ। यस्तै उहाँले न्यायिक समितिको काम, कर्तव्य र अधिकार बारे जनचेतना फैलाउने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको हो। विशेष गरी महिला तथा लैंगिक हिंसाबाट प्रभावित समुदायलाई न्यायमा पहुँच सहज बनाउने हाम्रो लक्ष्य हो।

उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउन ठूलो टेवा पुग्ने विश्वास लिएको पनि उहाँले बताउनु भयो। कार्यक्रममा वडा नम्बर ३ सिद्धेश्वरका अगुवाहरु, सरोकारवाला, महिला संजालका पदाधिकारी, दलित संजालका पदाधिकारी, युवा, टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।

साँफेबगर नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर र साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीले मन्तव्य राख्नु भएको थियो। सचेतना कार्यक्रमको सहजिकरण साँफेबगर नगरपालिकाका उजुरी प्रशासक नृप विश्वकर्माले गर्नु भएको थियो।