चिकित्सकले दिएको औषधि खाएका नेपाली दिदीभाईको १० मिनेटको फरकमा मृत्यु


पैरवी खबर

भारतमा दुई नेपाली बच्चाको निधन भएको छ ।

दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको औषधी सेवनबाट मृत्यु भएको हो ।

भारतमा एक क्लिनिकका चिकित्सकले दिएको औषधि सेवन गरे लगत्तै दुई नेपाली दिदी भाईको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुभम् डाइग्नोसिस सेन्टर क्लिनिकका चिकित्सक वेदकुमार गर्गले दिएको औषधि खाएपछि १०/१० मिनेटको अन्तरालमा दिदी भाईको मृत्यु भएको थियो । उनीहरुमा वान्ताको समस्या देखिए पछि क्लिनिकबाट औषधि ल्याएको थियो ।

अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काका अनुसार उनीहरुको मृत्युपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको छ। प्रहरीमा उजुरी गरे पनि डाक्टरलाई नियन्त्रणमा भने लिएको छैन । मृतक दुवै जनाको मंगलबार हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।