वादी समुदायबाट पहिलो प्रतिनिधिसभा सदस्य बनिन् सीता वादी


पैरवी खबर

काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक वादी समुदायबाट सङ्घीय संसद्मा प्रतिनिधित्व भएको छ । प्रदेश सभामा यस अघि नै प्रतिनिधित्व भए पनि सङ्घीय संसद्मा भने पहिलो पटक भएको हो । लामो समयदेखि राज्यको मूलधारबाट पछि पारिएको, उपेक्षित र बहिष्कृत समुदायको आवाज अब देशको सर्वोच्च नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा पुगेको छ । यही ऐतिहासिक क्षणलाई मूर्त रूप दिने नाम हो, सीता वादी ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी सीता वादी हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएकी हुन् । तर उनको यो यात्रा केवल निर्वाचन जित्नेसँग मात्रै सीमित छैन, यो सङ्घर्ष, असमानता, चेतना र परिवर्तनको गहिरो कथा र व्यथा पनि हो । यद्पी यस अघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसबाट उमादेवी वादी निर्वाचित भएकी थिइन् ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोलाको माटोमा जन्मिएकी सीता वादी त्यस्तो समुदायकी छोरी हुन्, जसलाई इतिहासले सबैभन्दा पछाडि धकेल्यो । वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो ।

सीता भन्छिन्, ‘वादी भएर जन्मिनु मेरो रोजाइ थिएन, तर त्यस समुदायमा जन्मिएपछि छुवाछुत, बहिष्कार र अपमान सहनु बाध्यता बन्यो ।’ सानै उमेरमा उनले बुझिन्, संविधानले बराबरी भने पनि व्यवहारमा समाज बराबरी छैन । कागजमा स्वतन्त्र देखिए पनि वास्तविक जीवनमा धेरै मानिस अदृश्य बन्धनमा बाँधिएका छन् ।

उनको बाल्यकाल अभाव र सङ्घर्षले भरिएको छ । भेरी नदी किनारमा बालुवा बोक्दै जीविकोपार्जन गर्ने परिवारमा हुर्किएकी उनले कहिले किताब किन्न पैसा पाइनन्, कहिले बस्ने ठाउँको अभाव झेलिन्, त कहिले पेट र पढाइबिच एक रोज्नुपर्ने बाध्यता आइ¥यो । तर यिनै कठिनाइले उनलाई रोकेन, बरु अझ बलियो बनाउँदै ल्यायो ।

१३ वर्षको उमेरमा एउटा संस्थाले उनलाई शिक्षाको अवसर दियो, जसले उनको जीवनमा अर्कै मोड ल्याइदियो । त्यहीँबाट उनले आत्मसम्मानसहित बाँच्ने आधार पाइन् । पढ्दै जाँदा उनीजस्तै पीडित बालबालिका र महिलाका लागि केही गर्ने भावना जाग्यो । परिवारबाट टाढा बसेर, अनेक सङ्घर्षबिच उनले समाजसेवामा स्नातक (बीएसडब्लू)को अध्ययन पूरा गरिन् ।

सामाजिक क्षेत्रमा काम गर्दै जाँदा उनले एउटा कुरा बुझिन्, व्यक्तिगत सहयोगले केहीको जीवन परिवर्तन गर्न त सकिएला, तर अन्याय र अत्याचार जन्माउने संरचना परिवर्तन नगरी समग्र समाज परिवर्तन सम्भव छैन । यही बुझाइले उनलाई राजनीति शास्त्र अध्ययनतर्फ डोर्‍यायो । उनले राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन सुरु गरिन्, जसले उनलाई नीति, शक्ति र शासनको बारेमा राम्रो ज्ञान दियो ।

सीता भन्छिन्, ‘म बुझ्न चाहन्थेँ किन हाम्रो समुदाय सधैँ पछाडि पर्छ, कसरी पारिन्छ र किन संविधानको समानता व्यवहारमा देखिँदैन ।’ यही प्रश्नको उत्तर खोज्दै उनी निष्कर्षमा पुगिन्, किनारमा बसेर नदी सफा हुँदैन, स्रोत नै सफा गर्नुपर्छ । अर्थात्, परिवर्तनका लागि निर्णय गर्ने ठाउँमै स्वयम पुग्नुपर्छ ।

एक दशकभन्दा बढी समयदेखि उनले वादी समुदायसँग प्रत्यक्ष रूपमा काम गरिन् । ‘सुन्दर सहज नेपाल’ नामक संस्था स्थापना गरी बाल संरक्षण, शिक्षा र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा पहल गरिन् । नागरिक शिक्षा र अधिकार सचेतनामार्फत उनले सयौँ परिवारमा सकारात्मक प्रभाव पारिन् ।

त्यसै गरी, ‘वादी सस्टेन कम्पनी’ स्थापना गरेर उनले आर्थिक रूपमा पछाडि पारिएका समुदायका लागि दिगो जीविकोपार्जनको बाटो खोल्ने प्रयास गरिन् । यसले उनको दृष्टिकोण व्यवहारमा पनि केन्द्रित रहेको देखाउँछ ।

उनले दलित तथा महिला अधिकारको बुलन्द आवाज उठाइन् । बाल संरक्षण र लैङ्गिक हिंसाका संवेदनशील मुद्दामा सक्रिय भूमिका खेलेर उनले आफूलाई एक सक्षम समुदाय नेतृका रूपमा स्थापित गरिन् ।

तर उनको यात्रामा चुनौतीको कमी थिएन । जब उनी मूलधारको राजनीतिमा प्रवेश गर्ने निर्णयमा पुगिन्, धेरैले प्रश्न गरे, ‘तिमी कहाँ, संसद् कहाँ ?’ उनले अपमान, अविश्वास र अस्वीकारको सामना गरिन् । तर उनी रोकिइनन् । किनकि उनले बुझिसकेकी थिइन्, दलित महिला र वञ्चित समुदायले भोग्ने समस्या केवल सामाजिक होइन, गहिरो रूपमा राजनीतिक हो ।

समाज कसरी सञ्चालन हुन्छ, स्रोत कसरी बाँडिन्छ, अवसर कसले पाउँछ, कानुन कसरी बन्छ, यी सबै राजनीतिक निर्णय हुन् । जबसम्म निर्णय गर्ने ठाउँमा वञ्चित समुदायको प्रतिनिधित्व हुँदैन, उनीहरूको समस्या र पीडा सधैँ कायमै रहन्छ ।

सीता भन्छिन्, ‘हामीलाई सधैँ भोट बैङ्क बनाइन्छ, तर निर्णय गर्ने ठाउँमा पुग्न दिइँदैन ।’ यही यथार्थले उनलाई राजनीतिमा सक्रिय बनायो । उनी विश्वास गर्छिन्, ‘परिवर्तन बाहिरबाट होइन, राजनीतिभित्रबाटै सम्भव छ ।’

उनको यही सङ्घर्ष र स्पष्ट दृष्टिकोणलाई विश्वास गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई समानुपातिकको बन्द सूचीमा समेट्यो र अन्ततः उनी संसद्मा निर्वाचित भइन् । यो उनको व्यक्तिगत जित मात्र होइन, सिङ्गो वादी समुदायको पहिचान र उपस्थितिको पनि हो । सामाजिक न्याय, समावेशिता र समान अवसर । दलित अधिकार, महिला सशक्तीकरण, बाल संरक्षण, शिक्षा र सुशासन उनका प्रमुख एजेन्डा हुन् । 

उनी भन्छिन्, ‘म केवल वादी समुदायको प्रतिनिधि भएर सीमित हुने छैन, म ती सबैको आवाज बन्न चाहन्छु जसका मुद्दा अझै किनारमा छन् ।’ उनी दया होइन, अधिकारको राजनीति गर्न चाहन्छिन् । ‘म दया माग्दिनँ,’ उनी भन्छिन्, ‘म हाम्रो साझा भविष्यका लागि साथ, विश्वास र अवसर माग्छु ।’