नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले अछामलाई पछाडि पार्ने उद्देश्यले होइन, अधिकार र अवसर दिलाउन लडेर ‘पिछडिएको क्षेत्र’को मान्यता दिलाइएको स्पष्ट पार्नुभएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर–१ वैजनाथमा घरदैलो अभियानपछि आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै डा. रावलले सत्य नबुझी अछामलाई पछाडि पारिएको भन्ने आरोपहरू निराधार रहेको बताउनुभयो । ऐतिहासिक रूपमा राज्यको पहुँचबाट वञ्चित अछामलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा अघि बढाउन ठूलो राजनीतिक तथा संवैधानिक संघर्षमार्फत ‘पिछडिएको क्षेत्र’को मान्यता दिलाउन सफल भएको उहाँको भनाई छ ।
डा. रावलका अनुसार उक्त विशेष मान्यताका कारण अछामका युवाहरू डाक्टर, इन्जिनियर, शिक्षक तथा लोकसेवा आयोगमार्फत सरकारी सेवामा प्रवेश गर्ने अवसर प्राप्त गर्न थालेका छन् । “यो व्यवस्था अछामलाई पछाडि पार्न होइन, यहाँका नागरिकलाई प्रतिस्पर्धामा अगाडि ल्याउनका लागि गरिएको हो,” उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले उक्त मान्यता दिलाउन दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रको हक सुनिश्चित गर्न निरन्तर संघर्ष गर्नुपरेको उल्लेख गर्नुभयो । यसलाई विकासविरोधी कदम भनेर फैलाइएका भ्रमप्रति लक्षित गर्दै डा. रावलले तथ्यका आधारमा मूल्याङ्कन गर्न सबैलाई आग्रह गर्नुभयो ।
डा. रावलले आफूले कहिल्यै अछामी जनताको शिर झुकाउने काम नगरेको दाबी गर्दै संसदमा अछाम मात्र नभई समग्र देशका पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो । “राष्ट्रिय हितका सवालमा म सधैं अडिग भएर उभिएको छु,” उहाँले भन्नुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशलाई टुक्र्याउने प्रस्ताव तथा चलखेलविरुद्ध कडा प्रतिरोध गर्दै प्रदेशको भू–अखण्डता जोगाउन निर्णायक भूमिका खेलेको दाबी गर्नुभयो । सुदूरपश्चिमको पहिचान, अधिकार र विकासका सवालमा आफू स्पष्ट र प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
पूर्वाधार विकासतर्फ संकेत गर्दै डा. रावलले अछामका महत्वपूर्ण आयोजना सेती लोकमार्ग र बुढीगंगा जलविद्युत आयोजना अब सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । आफू निर्वाचित भएमा यी आयोजनाहरू समयमै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दै यसले अछामको आर्थिक तथा सामाजिक विकासमा दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
डा. रावलले जिल्लामा आवश्यकता अनुसार विकासका काम अघि बढिरहेको उल्लेख गर्दै अझै बाँकी रहेका काम पूरा गर्न पुनः जनताको मत लिएर संसदमा जान चाहेको बताउनुभयो ।
घरदैलो तथा चुनावी कार्यक्रममा पूर्व मन्त्री शेरबहादुर कुँवर, नेकपाका केन्द्रीय कमिटी सदस्य कुलबहादुर कुँवर, हर्कबहादुर कुँवर, गोविन्द कुँवर, समानुपातिक उम्मेदवार केशर मिया, निर्मला साउद, जनक खड्का, जंग विक, केशरी रेग्मी, लोकबहादुर बोहरा ‘ज्वाला’, प्रकाश शाह, ईश्वरी खड्का लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेता भीमबहादुर शाहले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन नेता पूर्ण शाहले गर्नुभएको थियो ।


