वैजनाथ मावि पायलमा पूजा, हवन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने -pairabi khabar


पैरवी खबर

अछाम । चौरपाटी गाउँपालिका वडा नं. ४ पायलस्थित वैजनाथ माध्यमिक विद्यालय परिसरमा धार्मिक विधिअनुसार भव्य रूपमा भूमी पूजा आयोजना हुने भएको छ। माघ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भूमी पूजामा षडाङ्ग रुद्री पाठ, राति सत्यनारायणको पूजा, हवन, जपसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

शिक्षा क्षेत्रको दीर्घकालीन विकास र सकारात्मक ऊर्जाको कामना सहित भूमी पूजा आयोजना गरिने भूमी पूजा व्यवस्थापन समितिका अध्यक्ष दिपक कुँवरले जानकारी दिनुभयो । यसले विद्यालयप्रति समुदायको विश्वास र अपनत्व बढाउने अपेक्षा गरिएको अध्यक्ष कुँवरको भनाई रहेको छ ।
भूमी पूजा गर्दा नकारात्मक ऊर्जा नष्ट भई सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको अध्यक्ष कुँवरले बताउनुभयो ।

वैजनाथ माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भरत खत्रीले भूमी पूजाले शिक्षा र संस्कारलाई जोड्ने भूमिका खेल्ने बताउनुभयो । भूमी पूजाबाट विद्यार्थीमा अनुशासन, सकारात्मक सोच र संस्कृतिप्रतिको सम्मान बढ्ने विश्वास लिएको निमित्त प्रअ खत्रीको भनाई रहेको छ ।
उहाँका अनुसार धार्मिक र सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायबीच आपसी सम्बन्ध थप सुदृढ हुनेछ । यसले विद्यालयको विकास यात्रामा सामूहिक जिम्मेवारीको भावना जागृत गराउने निमित्त प्रअ खत्रीले जोड रहेको छ ।
भूमी पूजाका अवसरमा स्थानीय पण्डितद्वारा वैदिक मन्त्रोच्चारण सहित पूजा सम्पन्न गरिनेछ ।