अछाम।
मेल्लेख गाउँपालिकामा संचालित रुपान्तरण कक्षा तथा सिकाई आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय पालिकाको समन्वय, आस्था नेपालको आयोजना र वल्र्ड भिजन इन्टरनेश्नल नेपालको साझेदारीमा संचालित बाल स्पोन्सरसिप तथा बाल संरक्षण परियोजना अन्तरगत मेल्लेख गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ७ सम्म संचालन भएका सातवटा रुपान्तरण कक्षा एक कार्यक्रमका बिच स्थानीय सरकार तथा वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।
हस्तान्तर कार्यक्रमको अध्यक्षता प्रत्येक वडाका वडा अध्यक्षले गरी कोभिड–१९ को बेला प्रत्येक बालबालिकालाई घरमै बसेर पठन–पाठनमा सहजता गर्नका लागि संचालित रुपान्तरण कक्षामा १५ वटा खण्डको प्याकेज पठन–पाठन गरिएको थियो। सो प्याकेज भित्र विभन्न खालका जीवनोपयोगि सीपहरु, आत्मरक्षाका सीपहरु, लिंग र लैंगिकता सम्बन्धि जानकारी बचत र खर्च सम्बन्धि जानकारी किशोर–किशोरीमा हुने परिवर्तन सम्बन्धि जानकारी, महिनावारी हुँदा सरसफाई तथा सहि तरिकाले प्याड प्रयोग हुने तरिका, व्यक्तिगत सरसफाईका साथै कोभिड–१९ बाट बच्ने तरिकाको बारेमा सिकाई भएको छ।
विगत ६ महिना देखि संचालन भएको सो रुपान्तरण कक्षा हस्तान्तरण कार्यक्रममा प्रत्येक वडाका वडा अध्यक्षहरुले आस्था नेपालद्धारा संचालन भई रहेका यस्ता खालका विभिन्न गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै पालिका तथा शिक्षा समितिको बैठकमा निर्णय गराई आगामी दिनमा प्रत्येक वडामा कम्तिमा एक–एक रुपान्तरण कक्षा पालिका तथा वडा कार्यालयले संचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
रुपान्तरण कक्षा हस्तान्तरण तथा सिकाई आदान–प्रदान कार्यक्रममा जम्मा दुई सय १० जना सहभागि बालबालिकाले आफू पहिले कक्षामा नबोल्ने, बोल्न नसक्ने, शिक्षकलाई सोध्न नसक्ने, महिनावारी हुँदा प्याड माग्न नसक्ने आत्म रक्षाका सीप सम्बन्धि केही जानकारी नभएको र हाल रुपान्तरण कक्षामा सहभागि भई सके पछि बोल्न र भन्न सक्ने भएको बताएका छन्।
सो हस्तान्तरण कार्यक्रममा रुपान्तरण कक्षामा बचेको सामाग्रि विद्यालयलाई हस्तान्तरण गर्नुका साथै गाउँपालिकाका सातवटै वडाका १४ जना रुपान्तरण कक्षा सहजकर्तालाई सम्मान पत्र प्रदान गर्दै विदाई गरिएको थियो। सिकाई आदान–प्रदान तथा हस्तान्त्रण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनीधि, स्वास्थ्य कार्यालयका प्रतिनीधि, रुपान्तरण कक्षामा सहभागि बालबालिकाका अभिभावक, आस्था नेपालका सम्बन्धित वडामा कार्यरत बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजनामा कार्यरत कर्मचारीको सहभागिता रहेको आस्था नेपालका बाल संरक्षण अधिकृत भ्वान सिंह सार्कीले जानकारी दिनु भयो।


