अछाम । साँफेबगर नगरपालिका–१० घुघुरकोटमा महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण परियोजना अन्तर्गत महिला सञ्जाल अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
वाक नेपालद्वारा आयोजित, घुघुरकोट महिला सञ्जालको समन्वय तथा केएनएच नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका सातवटा महिला सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सातवटै महिला सञ्जालले हालसम्म गरेका गतिविधि, उपलब्धि, प्रगति तथा अनुभवहरू प्रस्तुत गरेका थिए। साथै, डाटाबेसका आधारमा महिला सञ्जालहरूको हालसम्मको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो। उक्त प्रस्तुतीकरण लक्ष्मीभक्त जोशी र सत्य स्वारले गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन तथा उद्देश्यबारे परियोजना अधिकृत सत्य स्वारले प्रकाश पार्नुभएको थियो। उहाँले महिला सञ्जालका गतिविधि, उपलब्धि र सिकाइलाई एकअर्काबीच आदानप्रदान गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न अनुभव आदानप्रदान कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा वाक नेपालका कार्यसमिति सदस्य रमेश परियारले स्वागत मन्तव्य राख्नुभएको थियो।
महिला सञ्जालका कामलाई थप प्रभावकारी बनाउने, आपसी सहकार्य र समन्वय बढाउने तथा महिला सशक्तीकरण र बाल अधिकार संरक्षणका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबाट विभिन्न प्रस्ताव संकलन गरी आवश्यक निर्णयसहित कार्यक्रम समापन गरिएको थियो ।


