अछामको धार्मिक तथा पर्यटकीय गन्तव्य तितौडामा कात्तिक ८ गते भव्य मेला


पैरवी खबर

अछामको धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित तितौडामा कात्तिक ८ गते भव्य पूजाआजा तथा विविध सांस्कृतिक कार्यक्रमसहित मेला लाग्ने भएको छ । तुर्माखाँद र ढकारी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित तितौडा धार्मिक महत्त्वका साथै प्राकृतिक दृश्यावलोकनका दृष्टिले पनि आकर्षक गन्तव्यका रूपमा चिनिँदै आएको छ ।
हरेक वर्ष आश्विन चतुर्दशीका दिन त्रिपुरेश्वरी माईको पूजाआजा गरी मनाइने यस मेलाले स्थानीय धार्मिक परम्परा, मौलिक संस्कृति र सामाजिक सद्भावलाई जीवन्त बनाउँदै आएको छ। यस वर्ष पनि बिहान ५ बजेदेखि पूजाआजा सुरु हुने मेला व्यवस्थापन समितिले जनाएको छ । पूजाआजासँगै दिउँसो विभिन्न कार्यक्रम आयोजना गरिनेछन् ।
समुद्री सतहबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको तितौडा धार्मिक श्रद्धा र प्रकृतिको मनोरम दृश्यावलोकनका लागि महत्त्वपूर्ण स्थल हो । यहाँबाट अछामसहित कैलाली, सुर्खेत, दैलेख, डोटी र कालीकोटका विभिन्न भूभागको दृश्य अवलोकन गर्न सकिन्छ । अग्लो पहाडी भूभाग, विस्तृत भू–दृश्य र शान्त प्राकृतिक वातावरणले तितौडालाई धार्मिक यात्रासँगै प्रकृतिको अनुभव लिन चाहनेहरूका लागि समेत आकर्षक बनाएको छ ।
तितौडाको धार्मिक महत्त्वसँग जोडिएको त्रिपुरेश्वरी माईको दर्शन तथा पूजाआजाका लागि अछामलगायत दैलेख, सुर्खेत र कालीकोटबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका छन ्। मेलाले विभिन्न जिल्लाका भक्तजनलाई एकै ठाउँमा जोड्नुका साथै स्थानीय धार्मिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पु¥याउँदै आएको छ ।
यसैबीच, तितौडाको धार्मिक महत्त्व उजागर गर्दै पर्यटन प्रवद्र्धन, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापन विद्यार्थी समितिले विशेष कार्यक्रम आयोजना गर्न लागेको छ । बिहान पूजाआजापछि ११ बजे तितौडा क्षेत्रमा कार्यक्रम गरिने समितिका अध्यक्ष लोचन कुँवरले जानकारी दिनुभयो। कार्यक्रममा अछाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मेलाको अर्को आकर्षणका रूपमा बृहत् न्याउले खेलसमेत आयोजना गरिने भएको छ। सुदूरपश्चिमको मौलिक लोकसंस्कृति र परम्परासँग जोडिएको न्याउले खेलले मेलाको सांस्कृतिक रौनक बढाउने अपेक्षा गरिएको छ। कार्यक्रममा चर्चित खेलाउडी चरित्रा शाह, खेलाउडा खकेन्द्रप्रसाद उपाध्यायलगायत गीदाउडा तथा गीदाउडीहरूको सहभागिता रहने अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा मेलाका जानकार डा. ध्रुवकुमार शाहीले जानकारी दिनुभयो ।
डा. शाहीका अनुसार शनिबार साँझदेखि नै पुजारी तथा केही भक्तजन तितौडा क्षेत्रमा पुगेर धार्मिक गतिविधि सुरु गरिसकेका छन्। आइतबार साँझ पनि मेला लाग्ने र यसको औपचारिक समापन सोमबार गरिने जनाइएको छ । धार्मिक आस्था, मौलिक संस्कृति र प्राकृतिक सुन्दरताले भरिपूर्ण तितौडा सम्भावना बोकेको पर्यटकीय क्षेत्र भए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा अपेक्षाअनुसार चिनिन सकेको छैन। यस क्षेत्रको व्यवस्थित विकास, सहज पहुँच, आवश्यक पर्यटकीय पूर्वाधार निर्माण तथा प्रभावकारी प्रचारप्रसार गर्न सके तितौडालाई अछामको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ ।
तितौडामा लाग्ने वार्षिक मेलाले धार्मिक पर्यटनको विकाससँगै स्थानीय संस्कृति, परम्परा र पहिचानलाई व्यापक रूपमा चिनाउने अवसरसमेत प्रदान गर्नेछ। यसको प्राकृतिक र धार्मिक महत्त्वलाई राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके स्थानीय पर्यटन गतिविधि विस्तार हुनुका साथै क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।