शिक्षक–कर्मचारीमाथि विभेदकारी सम्झौता नगर्न नेपाल शिक्षक महासंघ साँफेबगरको आग्रह


पैरवी खबर

अछाम । नेपाल शिक्षक महासंघ नगर कार्यसमिति साँफेबगर, अछामले स्थानीय तहबाट शिक्षक तथा विद्यालय कर्मचारीमाथि गरिएका सेवा–सुविधा कटौती तथा विभिन्न प्रकारका करार सम्झौता तत्काल रोक्न माग गर्दै साँफेबगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, अछाम तथा अछाम जिल्लाका १० वटै स्थानीय तहबाट शिक्षा, युवा तथा खेलकुद शाखामार्फत पछिल्लो समय जारी गरिएका विभिन्न परिपत्र तथा गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महासंघका अनुसार विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सिकाइ अनुदान, उच्च माध्यमिक तह अनुदान, बालविकास (ECED) शिक्षक, विद्यालय कर्मचारी तथा विभिन्न अनुदानमा कार्यरत शिक्षकहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र जबर्जस्ती करार सम्झौता गराउन खोजिएका गतिविधि स्वीकार्य छैनन्।
त्यस्तै स्थानीय तहबाट शिक्षक–कर्मचारीहरूको पोशाक भत्तालगायतका सेवा–सुविधामा कटौती गर्ने तथा विगतमा प्रदान गरिँदै आएका सेवा–सुविधा घटाउने निर्णयप्रति समेत महासंघले आपत्ति जनाएको छ।
महासंघले स्थायी, राहत, शिक्षण सिकाइ अनुदान, उच्च माध्यमिक तह अनुदान, बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा बालविकास सहयोगी कार्यकर्ताहरूको पेशागत स्थायित्व र स्पष्ट नीति–नियम सुनिश्चित नभएसम्म कुनै पनि प्रकारको दबाबमूलक वा विभेदकारी करार सम्झौता नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
साथै, शिक्षा विकास तथा समन्वय इकाइ अछाम तथा जिल्लाका सम्पूर्ण स्थानीय तहलाई शिक्षक–कर्मचारी विरोधी निर्णय तथा गतिविधि तत्काल रोक्न र कटौती गरिएका सम्पूर्ण सेवा–सुविधा यथावत् कायम गर्न महासंघले जोडदार माग गरेको छ।
महासंघले आफ्ना मागलाई बेवास्ता गर्दै जबर्जस्ती करार सम्झौता गराउने कार्य जारी राखिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ। त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।