अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नं. १ मा रामबहादुर कुँवरले क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पार्टी संगठन, सञ्चार क्षेत्र तथा सामाजिक गतिविधिमा लामो अनुभव संगालेका कुँवरले क्षेत्रीय नेतृत्वमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनी नेपाली कांग्रेस अछामको जिल्ला कार्यसमिति सदस्यका रूपमा दुई पटक जिम्मेवारी निर्वाह गरिसकेका छन्। त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियन केन्द्रीय सदस्यका रूपमा समेत उनले जिम्मेवारी सम्हालिसकेका छन्।
संगठन निर्माण र कार्यकर्तासँगको समन्वयलाई आफ्नो प्राथमिकतामा राख्दै कुँवरले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पारदर्शी र अनुशासित नेतृत्व विकाससँगै पार्टीभित्र सबै तहका नेता–कार्यकर्ताको सहभागिता र अपनत्व सुनिश्चित गर्ने बताएका छन्।
क्षेत्रीय सभापतिको जिम्मेवारी पाएमा संगठनलाई चलायमान बनाउने, कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने तथा पार्टीको नीति, विचार र सिद्धान्तलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने आफ्नो लक्ष्य रहेको कुँवरको भनाइ छ।
उनले न्याय, समानता र सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै पार्टी संगठनलाई थप समावेशी र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कुँवरको उम्मेदवारी घोषणासँगै अछाम क्षेत्र नं. १ मा कांग्रेसको आगामी क्षेत्रीय नेतृत्वलाई लिएर राजनीतिक गतिविधि थप चासोपूर्ण बनेको छ।


