बागभिडि पिपलतोला युवा समूहद्वारा निःशुल्क पोशाक तथा विद्यार्थी परिचयपत्र वितरण


पैरवी खबर

अछाम । साँफेबगर नगरपालिका–२जाल्पादेवी स्थित श्री बुढीगंगा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई बागभिडि पिपलतोला युवा समूहले निःशुल्क विद्यालय पोशाक तथा विद्यार्थी परिचयपत्र वितरण गरेको छ।

बागभिडि पिपलतोला युवा समूहका संयोजक मनिश बुढाको संयोजनमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद विकको अध्यक्षता भएको कार्यक्रममा साँफेबगर नगरपालिका–२ का वडा अध्यक्ष सेतबहादुर कुँवर प्रमुख अतिथि तथा पूर्व गाविस अध्यक्ष सागर सिंह कुँवर विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बैजनाथ प्रहरी चौकीका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, पूर्व वि.व्य.स. अध्यक्ष, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अतिथिहरूले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई विद्यालय शिक्षामा सहज पहुँच पुर्‍याउन तथा विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउन यस्ता सहयोगात्मक कार्यक्रम महत्वपूर्ण रहेको बताएका थिए। युवाहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा क्षेत्रमा गरेको सहयोग प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो।

युवा समूहले विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै गरेको सहयोगले विद्यालयका विद्यार्थीहरूमा थप उत्साह र हौसला बढेको विद्यालय परिवारले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले सहयोगका लागि बागभिडि पिपलतोला युवा समूहप्रति आभार व्यक्त गरेका थिए।