मेल्लेख ।
अछामको मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने उद्देश्यले लगानी योजना तथा घोषणा पश्चात्तको रणनीति योजना निर्माण सम्बन्धी १ दिने कार्यशाला मेल्लेख गाउँपालिकामा सम्पन्न भएको छ।
मेल्लेख गाउँपालिकाको आयोजनामा यही २०८३ भदौ ०१ गते मेल्लेख गाउँपालिकामा कार्यशाला सञ्चालन गरिएको छ । बालमैत्री स्थानीय तह घोषणाका लागि आवश्यक नीति, कार्यक्रम, लगानी योजना तथा घोषणा पछिको रणनीति योजना निर्माण गरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त पालिका बनाउने अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा बाल मैत्री स्थामीय शासन युक्त स्थानीय तह घोषणाको लागि आवश्यक पर्ने बाल संरक्षण ,बाल विकास,बाल सहभागिता तथा संस्थागत विकास गरि जम्मा ५१ वटा सुचकको अवस्था ,यी सूचक पूरा गर्न सरोकारवाला सहित स्थानीय तहको भुमिका लगायतका विषयमा छलफल भएको थियो । साथै बाल विवाह,छाउपडी लगायतका कुप्रथा न्यूनीकरण तथा अन्त्यका लागि गाउँपालिकाले आगामी दिनमा गर्नु पर्ने कार्यक्रम, आवश्यक स्रोत–साधन, सरोकारवाला निकाय बीचको समन्वय तथा जिम्मेवारीका विषयमा छलफल गरिएको छ।
मेल्लेख गाउँपालिकाले पछिल्लो समय बालमैत्री स्थानीय शासन तथा बाल अधिकारका क्षेत्रमा विभिन्न सचेतनामूलक र क्षमता विकासका गतिविधि सञ्चालन गर्दै आएको छ। गाउँपालिकाको आधिकारिक समाचार पोर्टलमा समेत बाल विवाहलाई शून्यमा झार्ने विषयमा सरोकारवालाको प्रतिबद्धता तथा बालमैत्री स्थानीय शासन सम्बन्धी गतिविधि सार्वजनिक भएका छन्।
कार्यशालामा जनप्रतिनिधि, कर्मचारी, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्था, अभिभावक, बालबालिका ,सुरक्षाकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको बताईएको छ।
बालमैत्री स्थानीय शासन भनेको वयस्क व्यक्तिको सकारात्मक आनी बानी ,व्यवहार,सचेतमा लगायतका क्रियाकलापसंग जोडिने विषय भएकाले यो अभियानको सफलताका लागि स्थानीय तह, समुदाय, विद्यालय, अभिभावक र बालबालिकाको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिईएकोछ।
आस्था नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित हातेमालो बाल कल्याण परियोजनाको आर्थिक सहयोग/साझेदारी मा सञ्चालन भएको कार्यशालामा बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणाको लागि पूरा हुन नसकेका सुचकको लागि स्रोत पहिचान सहितको कार्ययोजना निर्माण गरिएको छ । साथै यो कार्ययोजनाले नै गाउँपालिका घोषणा गर्ने अभियानलाई व्यवस्थित रुपमा अघि बढाउन आधार तयार गर्ने विश्वास गरिएको छ।
मेल्लेख गाउँपालिकाको चालु आवधिक योजना २०८२/८३–२०८६/८७ तथा वार्षिक नीति तथा कार्यक्रम समेत गाउँपालिकाको विकास र सामाजिक रुपान्तरणका लागि आधारका रुपमा अघि बढाईएका छन्।
बालमैत्री स्थानीय तह युक्त पालिका घोषणा गर्ने भन्दा पनि घोषणा पछि यसको दिगोपना समेतको अभियानलाई निरन्तरता दिने, बालबालिकाको शिक्षा ,स्वास्थ्य , संरक्षण र विकास सुनिश्चित गर्ने तथा समुदाय स्तरमा सचेतना बढाउने विषयलाई योजनामा प्राथमिकता दिनु पर्ने सरोकारवालाको अपेक्षा रहेको छ।
मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा को लागि आयोजना गरिएको उक्त कार्यशाला बैठक गाउँपालिकाका उपाध्यक्ष निर्प बहादुर खड्काको अध्यक्षता र प्रमुख अतिथि पालिका अध्यक्ष ज्वाला सिंह साउँदले गर्नु भएको थियो, भने उद्देश्य तथा स्वागत आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुला र कार्यक्रमको सञ्चालन आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्कीले गर्नु भएको थियो ।


