साँफेबगर, साउन ८ — साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नगरभित्रका सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमका लागि स्थानीय कृषि उत्पादनमा आधारित खाद्यवस्तु आपूर्ति गर्न इच्छुक सहकारी संस्थाहरूबाट प्रस्ताव (निवेदन) आह्वान गरेको छ।
नगर कार्यपालिकाको साउन ७ गते बसेको बैठकको निर्णयअनुसार विद्यालयमा दिवा खाजा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै खाद्य सामग्री आपूर्ति गरिने भएको हो।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न इच्छुक सहकारी संस्थाहरूलाई आग्रह गरेको छ।
प्रस्ताव पेश गर्दा सहकारी संस्था दर्ता नवीकरण प्रमाणपत्र, सञ्चालक समितिको निर्णयको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र तथा निवेदन अनिवार्य रूपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
नगरपालिकाका अनुसार आपूर्ति गरिने खाद्य सामग्री गुणस्तरीय, स्थानीय उत्पादनमा आधारित तथा नगरपालिकाले स्वीकृत गरेको मेनु र विद्यालयको आवश्यकताअनुसार हुनुपर्नेछ। साथै आपूर्तिकर्ताले विद्यालय र नगरपालिकासँग द्विपक्षीय सम्झौता गरी सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।


