कैदीबन्दीका लागि ज्ञानको उपहार: समाजसेवी मदन बुढाद्वारा अछाम कारागारमा २०० पुस्तक सहयोग


पैरवी खबर

मंगलसेन ।
अछामका समाजसेवी युवा मदन बहादुर बुढाले जिल्ला कारागार अछाममा रहेका कैदीबन्दीहरुको अध्ययन अभिरुचि बढाउने उद्देश्यले दुई सय थान पुस्तक सहयोग गरेका छन्। शुक्रबार आयोजित एक कार्यक्रममा बुढाले विभिन्न विधाका पुस्तकहरु कारागार प्रशासनलाई हस्तान्तरण गरेका हुन्।
साँफेबगर नगरपालिका वडा नं. ५ नवाठाना निवासी बुढाले कैदीबन्दीहरुको समय उपयोगी बनाउन र ज्ञान आर्जनमा सहयोग पुर्‍याउने हेतुले पुस्तक प्रदान गरेको जानकारी दिए। हाल काठमाडौँमा अध्ययन तथा व्यवसायमा संलग्न बुढाले कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्न पुस्तकको भूमिका महत्वपूर्ण हुने बताए।
उनले भने, “पुस्तकले मानिसको सोच परिवर्तन गर्न सक्छ। कैदीबन्दीहरुले यी पुस्तकबाट सकारात्मक ऊर्जा र ज्ञान प्राप्त गर्ने विश्वास लिएको छु।” साथै उनले भविष्यमा कैदीबन्दीहरुको अन्य समस्यामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका क्रममा बुढाले कैदीबन्दीहरुलाई पुस्तक अध्ययनमार्फत आफ्नो बौद्धिक विकास गर्न आग्रह गर्दै अछामकै बयालपाटा अस्पतालमा पुस्तकालय स्थापना गर्ने योजना रहेको जानकारी पनि गराए।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले यस्तो पहलको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले कारागारलाई केवल सजाय भोग्ने स्थल नभई सुधारको अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे।
कैदीबन्दीहरुले पुस्तक प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यस्ता सहयोगले आफ्नो दैनिकीमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै उनीहरुले कारागार भित्र रहेका खानेपानी, स्वास्थ्य सेवा र भौतिक पूर्वाधारका समस्यातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रम कारागारका चौकीदार देवेन्द्र बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा कारागार प्रशासन, सुरक्षाकर्मी तथा कैदीबन्दीहरुको उपस्थिति रहेको थियो।