अछाम, मेल्लेख गाउँपालिकाले शिक्षा प्रणाली सुदृढीकरण र सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको छ।
गाउँ कार्यपालिकाको १८औँ अधिवेशनको २०८३ वैशाख ७ गते बसेको पहिलो बैठकको निर्णयअनुसार गाउँपालिका अन्तर्गत कार्यरत शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा पदाधिकारीहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने व्यवस्था गरिएको हो।
गाउँपालिकाले जारी गरेको सूचनामा शैक्षिक सत्र २०८३ देखि उक्त व्यवस्था लागू हुने जनाइएको छ। साथै, नयाँ भर्ना खुल्दा सोही निर्णयअनुसार भर्ना गर्न आग्रह गरिएको छ।
यस निर्णयले सामुदायिक विद्यालयप्रति विश्वास बढाउने, विद्यार्थी संख्या वृद्धि गर्ने तथा समग्र शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।
गाउँपालिकाले सम्बन्धित सबै सरोकारवालालाई निर्णयको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह समेत गरेको छ।


