बसभित्रै अचेत भेटिएका युवकको मृत्यु


पैरवी खबर

अछाम – आज विहान फागुन ०३ गते बिहान ०६:४५ बजे जिल्ला अछामको साँफेबगर नगरपालिका–१०, घुघुरकोट ठाँटीबजारस्थित प्रहरी पोष्टमा नियमित जाँचका क्रममा एक युवक अचेत अवस्थामा भेटिएका छन्।
धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३७९२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा अत्तरियाबाट बाजुरा जाने भन्दै चढी अन्तिम सीटमा बसेका जिल्ला बाजुरा, बुढीनन्दा नगरपालिका–७, कोल्टीका वर्ष अन्दाजी २३ का किरण सिंह घोप्टो परेर अचेत अवस्थामा फेला परेका हुन्।
प्रहरीले तत्काल सोही बसमार्फत उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा पठाएको थियो। तर अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव अटोप्सीका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।