निर्वाचन जिते अधुरा आयोजना सम्पन्न गर्ने डा.रावलको प्रतिबद्धता


पैरवी खबर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले आफू निर्वाचित भएमा सेती लोकमार्ग निर्माण कार्य सम्पन्न गर्ने दाबी गर्नुभएको छ।
चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै रावलले सेती लोकमार्ग आफ्नो गृहमन्त्री कार्यकालमै सुरु भएको स्पष्ट पार्दै अब आफू विजयी भएर गए निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले सेती लोकमार्ग निर्माणको औपचारिक सुरुवात गरेको जानकारी दिनुभयो।
सेती लोकमार्गका विषयमा केही व्यक्तिहरूले गलत सूचना फैलाइरहेको उल्लेख गर्दै उहाँले यस्ता भ्रममा नपर्न आम नागरिकलाई आग्रह गर्नुभयो।
उहाँले जिल्लामा सम्पन्न हुन बाँकी बुढीगंगा जलविद्युत आयोजना, बयालपाटा अस्पतालको समस्या समाधान तथा बुढीगंगा नदीको कटानका कारण जोखिममा रहेको बैद्यनाथ धाम लगायतका खेतियोग्य जमिन जोगाउन तटबन्ध निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
देशले सक्षम, इमानदार र दूरदर्शी नेतृत्व पाएमा व्यापक रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसका लागि नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार आवश्यक रहेको दाबी गर्नुभयो।
घरदैलो अभियानमा पूर्व मन्त्री शेरबहादुर कुँवर, नेकपाका केन्द्रीय कमिटी सदस्य कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, हर्कबहादुर कुँवर, गोविन्द, समानुपातिक उम्मेदवार केशर मियाँ, निर्मला साउद, नेता हर्क साउद, तेजबहादुर रावल, देवबहादुर कुँवर, भरत स्वाँर, जनक खड्का, जंग विक, अर्जुन धामी लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।