राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न जीत आवश्यक छ : डा. भीम रावल


पैरवी खबर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको सवालमा आफ्नो जित अनिवार्य रहेको बताउनुभएको छ ।

मेल्लेख गाउँपालिका वडा नम्बर–३ ठाटीमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा. रावलले नेपालको राष्ट्रियता कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । राष्ट्रको सार्वभौमिकता, स्वतन्त्र निर्णय क्षमता र नेपाली जनताको स्वाभिमानमाथि आँच आउने कार्यविरुद्ध दृढताका साथ उभिन सक्ने नेतृत्व आजको आवश्यकता भएको उहाँकोे भनाइ थियो ।

डा. रावलले विगतमा संसद् र सरकारमा रहँदा राष्ट्रहितलाई केन्द्रमा राखेर स्पष्ट अडान लिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्रियता र स्वाधीनताको पक्षमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरदैलो अभियानका क्रममा उहाँले मेल्लेख गाउँपालिकाको समग्र विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले राष्ट्रियता, स्थायित्व र विकासका सवालमा डा. रावलको स्पष्ट दृष्टिकोण रहेको भन्दै समर्थन जनाएका थिए ।

घरदैलो अभियानमा पूर्वमन्त्री शेरबहादुर कुँवर, नेकपाका केन्द्रीय कमिटी सदस्य कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, हर्कबहादुर कुँवर गोबिन्द, समानुपातिक उम्मेदवार केशर मिया र निर्मला साउद, नेकपाका नेता एवं गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद, नेता देवबहादुर कुँवर, भरत स्वाँर, जनक खड्का, जंग विक, अर्जुन धामीलगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।