मत किन्नु भ्रष्टाचार हो, जनताले यस्ता उम्मेदवारलाई बहिष्कार गर्नुपर्छ : डा. भीम रावल


पैरवी खबर

नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता एवंम् अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. भीम बहादुर रावलले पैसाका बलमा मत किन्नु नाङ्गो भ्रष्टाचार भएको बताउनुभएको छ ।
साँफेबगर नगरपालिका वडा नं.३ शिद्देश्वर र १० घुघुरकोटमा आयोजित घरदैलो अभियानमा वोल्दै नेता रावलले यस्ता गलत प्रवृत्तिका उम्मेदवारलाई जनताले सचेत भई पूर्ण रूपमा बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
डा. रावलले जनताको मत अमूल्य छ, पैसाको लेनदेनमा मत बेच्नु र किन्नु दुवै अपराध भएको बताउँदै यस्तो काम गर्नेहरू संसदमा पुगेर देश र जनताको हितमा काम गर्न नसक्ने उहाँको भनाई रहेको छ । उहाँले संसदमा पुगेपछि वर्षौँसम्म जनताको आवाज नउठाउने र जनसरोकारका विषयमा मौन बस्ने प्रतिनिधिलाई जिताएर कुनै अर्थ नहुने स्पष्ट पार्नुभयो ।
डा. रावलले २०७४ सालको निर्वाचनपछि बनेको दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार असफल हुनुको मुख्य कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको गलत प्रवृत्ति रहेको ठोकुवा गर्नुभयो । उहाँले गलत नेतृत्व र अहंकारी प्रवृत्तिका कारण त्यो ऐतिहासिक अवसर गुम्यो र कम्युनिष्ट आन्दोलन विभाजनतर्फ पुगेको डा. रावलको भनाई रहेको छ ।
समानुपातिक उम्मेदवार केशर मियाले आफू शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समानुपातिक उम्मेदवार निर्मला साउदले मतदातालाई लोभ, डर र भ्रममा नपरी विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभयो ।
घरदैलो अभियानमा पूर्व मन्त्री शेरबहादुर कुँवर, केन्द्रिय कमिटी सदस्य कुलबहादुर कुँवर, हर्क बहादुर कुँवर गोविन्द, देव बहादुर कुँवर। रंग ठकुल्ला सागर सिंह बाव्ली, जनक खड्का, जयन्ति वोगटी लगायतको सहभागिता रहेको थियो । भोलिवाट मेल्लेख गाउँपालिकामा चुनावि अभियाज सुरु हुनेछ ।