पालेवन सामुदायिक वन उपभोक्ता भेला सम्पन्न


पैरवी खबर

अछाम । मंगलसेन नगरपालिका वडा न ५ मा रहेको पालेवन सामुदायिक वन उपभोक्ता समुहको उपभोक्ता भेला सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद ढुंगानाको अध्यक्षतामा भएको भेलामा पर्या पर्यटन प्रवद्र्धन कार्यक्रम २०८२ का विषयमा छलफलगरि अनुमोदन गरेको छ भने वनको विकासका लागि गर्नुपर्ने कामहरुको योजना समेत तयार पारेको छ । भेलामा अछाम क्षेत्र न २ का निवर्तमान सांसद पुस्प बहादुर शाह प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सांसद शाहले सामुदायिक वनलाई जोगाउन सकेको खण्डमा हामीलाई धेरै कुरा सहज हुने बताउनुभएको छ ।
आज विश्व जलवायु परिवर्तनको मारमा परिरहेको बेला हामीले बन जंगल जोगाउदै यसबाट फाईदा लिन सक्नुपर्ने बताउनुभयो । वन हाम्रो दैनिकी संग मात्र होइन भविष्य संगपनी जोडीएको हुदा यसपछीका सन्ततीहरुलाई नासोको रुपमा वन छोडेर जानुपर्ने बताउनुभयो । अहिले मुलुक निकै अफ्ठेरो अवस्थामा रहेको भन्दै उहाले यो बेला यस्ता सामाजिक कार्यहरुमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको आशन बाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले सामुदायिक वन भनेको समुदायका लागि बैंक भएकाले यसलाई जोगाउन आवश्यक रहेको बताउनुभयो । सामुदायिक वनले हाम्रो गरिबी र पछौटेपनको अन्त्य गर्न सहयोगी भूमीका खेल्ने भएकाले अहिलेको अवस्थामा वन जोगाउनु भनेको समुदायमा सम्पती थुपार्नु जस्तै भएको बताउनुभयो । सामुदायिक वनको आवश्यक्ता, यसको महत्व र यसबाट फाईदा कसरी लिन सकिन्छ भन्ने विषयमा जानकारी गराउनुहुदै नगर प्रमुख बोहराले वनलाई मात्रै हराबरा बनाउने हो भने धेरै युवाहरुलाई यसैले रोजगारी सृजना गर्ने बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय अछामका प्रमुख केशव पराजुलीले यो पालेवन सामुदायिक वनले निकै राम्रो काम गरेकाले यसलाई निरन्तरता दिदै जिल्लाका अन्य ठाउका उपभोक्ताहरु यो वनमा आउने वातावरण सृजना गर्न सुझाव दिनुभएको थियो । अछाम जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएकाले यहाँ थोरै मेहनत गरेको खण्डमा राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।
उपभोक्ता भेलामा वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा न ५ का निवर्तमान अध्यक्ष हरि प्रसाद ढुंगाना, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, काप्रे सिमभीटा सामुदायिक वनका अध्यक्ष राजेश बोगटी, नेपाल रेडक्रस सोसाइटी अछामका अध्यक्ष रत्न प्रसाद ढुंगाना लगायत सामुदायिक वनका उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वनले राम्रो काम गरेको प्रशंसा गर्दै आगामी दिनमा थप राम्रो गर्न सुझाव दिएका थिए । उपाध्यक्ष कलावती सार्कीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन सचिव नन्दराज ढुंगानाले गर्नुभएको थियो ।