वडा अध्यक्ष हिक्मत कडायतद्वारा कार्यपालिका बैठक बहिष्कार


पैरवी खबर

साँफेबगर । साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य हिक्मत कडायतले नगर कार्यपालिका बैठक बहिष्कार गरेका छन्। उनले बैठकमा नोट अफ डिसेन्ट लेख्दै आफ्नो असहमति जनाएका हुन्।
अध्यक्ष कडायतका अनुसार नगरपालिका कार्यालय प्रमुख भएको अवस्थामा कार्यपालिका बैठक नबोलाउने र अनुपस्थित हुँदा मात्र बैठक बोलाउने प्रवृत्तिले प्रशासनिक प्रक्रियामा समस्या देखिएको छ। साथै चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्म पनि वडालाई बजेट कार्यान्वयनका लागि कार्यादेश नदिइएको विषयमा उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उक्त विषयमा छलफल तथा जवाफ माग्न खोज्दा “कार्यालय प्रमुख उपस्थित छैनन्” भन्ने जवाफ पाएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा बैठकमा उठेका प्रश्नहरूको जवाफ कसले दिने भन्ने प्रश्न उठाएका छन्। जिम्मेवार व्यक्ति नै अनुपस्थित रहेको भन्दै उनले आफ्नो धारणा राख्दै बैठक बहिष्कार गरेको बताएका छन्।